काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगलशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
समूहको दुवै खेल जित्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।
समूह ‘बी’ बाट नेपालसँगै समूह उपविजेताको रुपमा भुटानले पनि सेमिफाइनलमा स्थान बनाएको छ । एकपक्षीय खेलमा पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । नेपालको जितमा अमिषा कार्कीले दुई गोल गर्नुभयो । रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गर्नुभयो ।
सात टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने च्याम्पियनसिपबाट बाहिरिसकेको छ । अब भारत र बंगलादेशबीचको खेलपछि आउने नतिजाले नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।