नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न भएको एथलेटिक्स विधाको ४ x ४ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लवले स्वर्ण जितेको छ । आर्मी क्लवले महिला पुरुष दुवै समुहमा स्वर्ण जितेको हो ।पुरुष अन्तरगत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समुहले निर्धारित दुरी ३ मिनेट १८ दशमलव ३६ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेको हो ।सो ईभेण्टमा शसस्त्र प्रहरी बलको एपिएफ क्लवले रजत पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आषिश चौधरी, शिवराज पार्की र सन्दिप नेपालीको टोलीले निर्धारित दुरी ३ मिनेट, २५ दशमलव ८२ सेकेण्डमा पार गरेको थियो ।
यसैगरी नेपाल पुलिसको टोलीले कास्य पदक जितेको छ । नेपाल पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समुहले निर्धारित दुरी ३ मिनेट २९ दशमलव ३५ सेकेण्डमा पुरा गर्दै कास्य जितेको हो ।
महिला तर्फको सोही ईभेण्टमा पनि त्रिभुवन आर्मी क्लवले स्वर्ण जितेको छ । त्रिभुवन आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समुहले निर्धारित दुरी ४ मिनेट २ दशमलव ७८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेको हो ।
यसैगरी ४ मिनेट १४ दशमलव ८० सेकेण्डमा निर्धारित दुरी पार गर्दै लुम्बिनी प्रदेशले रजत पदक जितेको छ । लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको समुहले निर्धारित दुरी ४ मिनेट १४ दशमलव ८० सेकेण्डमा पार गर्दै रजत पदक जितेको हो ।
काँस्यमा चित्त बुझाएको बागमती प्रदेशले भने निर्धारित दुरी ४ मिनेट २२ दशमलव ७९ सेकेण्डमा पुरा गरेको थियो । बागमतीका अञ्जु खड्का, रजीना दुलाल, स्वगता खाईजु र सन्तोषी श्रेष्ठको समुहले काँस्य जितेको हो