पोखरा, २२ कात्तिक/कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेदवार पोखराको ग्रामिण क्षेत्रको समान विकास गर्ने बताएका छन् । कास्की २ मा रहेका ११ वडा मध्ये केही वडा अझैपनि महानगर भन्न लायक नभएकाले आफूहरु निर्वाचित भएपछि समान विकास गर्ने बताएका हुन् । कास्की २ का ११, १६, २०, २१ र ३३ नम्बर वडा पुराना गाबिस मिलाएर बनेको वडा छन् । ती वडाहरुका नागरिकहरुले अझै पनि महानगरबासीको अनुभूतीगर्न पाएका छैनन् । गठबन्धनका उम्मेद्वार निर्वाचित भएमा ती वडाहरुमा भएका समस्या समाधान गर्ने उनीहरुको प्रतिवद्धता छ ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा अहिले तीनै वडाहरुको घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरुले आफ्नो क्षेत्रमा रहेका दुर्गम भेग चाडै सुगम बन्ने वाचा गरेका हुन् ।
मंगलबार पोखरा–२१ र पोखरा–१६ मा भएको कोणसभासहितका घरदैलो कार्यक्रममा भएको छ । पोखरा २१ क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार बराल र प्रदेशसभा (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने कोणसभामा थिए । भने, प्रदेश सभा (ख) का उम्मेदवार विन्दुकुमार थापा पोखरा १६ मा घरदैलोमा थिए ।
पोखरा २१ मा आयोजित कोणसभमा नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र विश्व प्रकाश लामिछानेसहितका नेताहरुले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बरालले फुस्रखोला मट्टीखानको बाटो पिच गर्न पहल गर्ने बताए । त्यो बाटो लामो समयदेखि अलपत्र छ । कोणसभा कै क्रममा स्थानीय इन्द्रबहादुर खत्रीले सो बाटो कै लागि भएपनि मत परिवर्तन गर्नुपर्ने बताएका थिए ।
तर, गठबन्धनलाई मत दिएर जिताएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारमा गठबन्धन भएमा त्यो सडक पिच गर्न आफ्नो तर्फबाट पहल गर्ने बताएका थिए । पर्यटन, कृषि र पूर्वाधार निर्माण गरेर दुर्गमलाई सुगममा परिणत गरिने उनको भनाई छ । कोर सहरी क्षेत्र अब साँघुरो भएको भन्दै विकास पूर्वाधारको विस्तार अब दुर्गम भनिएको तर सम्भावना रहेको क्षेत्रमा हुने उनको तर्क छ ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नम्बर २ (१)मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्व प्रकाश लामिछानेले अब देशको विकास गठबन्धनमा आवद्ध दलहरुले गर्ने बताए । गठबन्धनको घोषणा पत्र नै आफ्नो घोषणा पत्र रहेको भन्दै उनले विगतको आफ्नो अनुभवलाई जनताको सेवा र काममा प्रयोग गर्ने धारणा राखे ।
योजना बनाउन सजिलो रहेको तर कार्यान्वयन गर्न गाह्रो हुने भन्दै उनले पोखरा महानगर गठबन्धनको नेतृत्वमा रहेको, प्रदेश र संघ सरकार पनि गठबन्धनकै बन्ने हुँदा समन्वय गरेर योजना लागु गर्न सहज हुने बताए । कास्की क्षेत्र २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफुले पाँच वर्ष प्रदेशको संरचना बनाउने काममा व्यतित गरेको सुनाउँदै अबको पाँच वर्ष विकासका लागि उम्मेवारी दिएको बताए । उनले आफुले पाएको सेवा सुविधा विगतमा जस्तै सामाजिक कार्यमा खर्च गर्ने बताए । उनले पोखरा महानगरपालिका १६ दिपमा मतदातासंग भेटघाट गर्दै उक्त कुरा बताएका हुन ।