काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछु : थापा

कात्तिक २५, पोखरा ।गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् । गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् । स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् ।

 

थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं । खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’

 

पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...