पोखरा, २६ कात्तिक/अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्व प्रकाश लामिछानेले लामो संघर्ष पछि व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन हुन नसक्दा दुःख लागेको बताएका छन् । पोखरा १७ घारीपाटनमा सञ्चालित निर्वाचन अभियानमा उनले भने, ‘व्यवस्था परिवर्तन गरियो तर अबस्था परिवर्तन गर्न सकेनौं । अब अबस्थामा परिवर्तन गर्न गठबन्धन गरेर आएको छौं ।’
उनले अहिले गठबन्धनको स्थानीय एजेण्डा भनेको स्वास्थ्य, शिक्षाका साथै सम्बृद्ध नागरिक बनाउने रहेको बताए । असल नेतृत्वको अहिले आवश्यक परेको भन्दै उनले भने, ‘पोखराको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध छ ।’
अभियानमा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बृन्दादेवी रानाले स्थिर सरकार, रोजगारी, आर्थिक बृद्वि भष्ट्राचार नियन्त्रणको लागि गठबन्धन गरिएको भन्दै गठबन्धनका उम्मेदवारको जितले मात्रै नेपालीको समस्याको समाधान हुने दावी गरिन् ।‘बिगतका जनप्रतिनिधिको मुल्यांकन गर्ने समय अहिले हो । दुख सुखमा भेटिने को हो भनेर बुझ्नुपर्छ । उहाँ जस्तो ईमानदार नेताको खाँचो छ ।’ उनले भनिन् ।
बिरुवा आमा समूहकी अध्यक्ष दुर्गा केसीले देशलाई संकट पर्दा, व्यवस्था धरापमा पर्दा एकजुट हुने दलले नै निकास र विकास दिने भन्दै चुनाव चिन्ह फरक परेर केही फरक नपर्ने बताईन् । ‘यो देशले मागेको गठबन्धन हो । मत दान मात्र हैन अधिकार प्रयोग गर्ने हो । बिकासको योजना भएका विश्व प्रकाशलाई जिताउन सबै आफ्नो आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’