मतगणनाको काम सकियो, सात दल बने राष्ट्रिय दल

काठमाडौं, मंसिर २१ गते । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । गणनाको नतिजाअनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका छन्

निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतगणनाको काम सकिएकाले आजदेखि दलले पाउने सिट संख्याको टुंगो लगाएर दलहरुलाई आजै पत्राचार गरिने छ ।

 

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले दलले प्राप्त गर्ने सिट बाँडफाँटको काम आजै टुंगिने छ । एक करोड ५ लाख ६० हजार ६७ कुल सदर मतको गणना भएको उहाँले बताउनुभयो । यद्यपि निर्वाचनमा समानुपातिक तर्फ करिब एक करोड १० लाख मत खसेको उहाँले जानकारी दिनुभयो । दलहरुले प्राप्त गरेको मत आयोगले आफ्नो वेवसाइटमा पनि प्रविष्ट गरिसकेको छ ।

 

अन्तिम मत परिणामअनुसार सात वटा दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत ल्याउनु पर्ने आयोगले जनाएको छ ।

 

नेकपा (एमाले) बाट अलग भएर नकपा एकीकृत समाजवादी दल बनाएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दल प्रत्यक्ष तर्फ १० सिटमा विजय निकाले पनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४११ मत सो दललाई अपुग भएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ छ । ती मत समनुपातिकतर्फको ११० सिट बाडफाँटमा भाग लगाइने छ । थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ मत खेर गएको छ ।

 

नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३९१ मत पनि खेर गएको छ । त्यस्तै, थ्रेसहोल्ड नकटाउने अन्य ४० दलले प्राप्त गरेका मत पनि खेर गएको छ । आयोगको नतिजा अनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेसहोल्ड कटाउने सात दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । सो दलले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेले प्राप्त गरेको मत २८ लाख ४५ हजार ६४१ रहेको छ ।

 

दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेको छ । सो दलले ३२ सिट प्राप्त गर्ने देखिएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । सोहीअनुसार तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । सो दलले समानुपातिक तर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाएको छ । सो दलले १२ प्रतिशत मत प्राप्त गर्दै १३ सिट प्राप्त गर्नेभएको छ । सो दलले ११ लाख ३० हजार ३४० मत प्राप्त गरेको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ७ सिट पाउने भएको छ । सो दलले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ५ सिट पाउने छ । सो दलले ४ लाख २१ हजार ३१४ मत पाएको छ । जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । निर्वाचन आयोगले अन्तिम हिसाव निकालेपछि एक दुई सिट तलमाथि हुनसक्ने जनाएको छ । त्यसको टुंगो आजै हने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

 

प्रतिनिधि सभामा २७५ जनामध्ये १६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भइसक्नु भएको छ । समानुपातिक तर्फ अब ११० जनाले दलहरुले आयोगमा पेश गरेको बन्दसूचीका आधारमा चुनिनेछन् । आयोगले २६ गते भित्र सबै परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाइसक्ने बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...