पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा

पोखरा,  जेठ ९ गते ।पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार आठ वटा खेलबाट सेमिफाइनल पुग्ने चार वडाको टुंगो लागेको छ ।

पोखरा—१५, पोखरा—३०, पोखरा—१४ र पोखरा—२७ को टिम अन्तिम चारमा पुगेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मंगलबार भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ४—१, वडा नम्बर ३० ले वडा नम्बर ८ लाई ३—२, वडा नम्बर १४ ले वडा नम्बर ३२ लाई २—०, वडा नम्बर २७ ले वडा नम्बर—२४ लाई ४—३ गोलान्तरले हराए ।

 

यी चारमध्ये दुई टिम बुधबार हुने सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने छन् । पहिलो सेमिफाइनल वडा नम्बर १५ र ३० बीच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा नम्बर १४ र २७ बीच बिहान १० बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

 

कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव खड्काले जानकारी दिए ।

 

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५—५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । फाइनल खेल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...