पोखरा ।पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेकाे हाे ।
प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ ।
त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।
प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।
विजेता खेलाडीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, पाेखरा महानगरका प्रमुख धनराज आचार्य, पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
यो प्रतियोगिताले दुई देश, दुई एतिहासिक र पर्यटकिय शहर, दुई अन्तर्राष्ट्रिय विमानस्थल साथै दुई देशका नागरिक र कला सँस्कृतिलाई आगामी दिनहरुमा अझ बिस्तार र सिधा स्थापित गर्न सहयोग पुर्याएको राज्यमन्त्री सिर्पालीले बताइन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसंगको सहकार्यमा असार ७ र ८ गते पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सम्पन्न भएको छ ।