पोखरा, साउन २ गते ।सेती नदिको किनार । नदिको बहाबले कटान गरेपछि मान्छे जानै अप्ठ्यारो ।पोखराको गाईघाट । जहाँ मृत्यु भएकाहरुको शव जलाउने स्थल हो ।
पोखरा महानगपालिका वडा नम्वर १ मा रहेको गाईघाटमा शव बोकेर जानेहरुका लागि निक्कै अप्ठ्यारो थियो भने शव जलाउन समेत समस्या थियो । त्यही समस्या समाधानका लागि पोखरा महानगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिको प्रयासमा गाईघाटलाई ब्यवस्थित गरिएको छ । वडा कार्यालयको प्रयासमा पोखरा महानगपालिकाबाट विनियोजन भएको २५ लाख रुपैयाँले गाईघाटमा शव जलाउन र मलामिका जानका लागि सहज बनाइएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा विनियोजन भएको २५ लाख रुपैयाँबाट गाईघाटमा भौतिक निर्माणका काम सम्पन्न भएको वडा नम्वर १ का अध्यक्ष साहारा प्रधानले जानकारी दिए । गाईघाटमा शव जलाउन जानेहरुका लागि निक्कै समस्या थियो उनले भने, “अहिले विगतको भन्दा सहज भएको छ । सोचेजस्तो काम गर्न अझै बजेट अपुग भएको भएको छ ।”
उनले २५ लाख रुपैयाँले गाईघाटमा शव लगाउने दुई वटा ठाँउ, नदि किनारमा फलामको रेलिङ निर्माण र नदिमा पुग्न सिढि निर्माणको काम सम्पन्न भएको बताए । त्यस्तै उक्त ठाँउबाट हरेक सोमबार बोलबम यात्रा समेत सुरु हुने भएकाले भक्तजनको ठूलो भिड लाग्ने स्थल भएकाले वडाको पहलमा गाईघाटमा चिता निर्माण लगायका भौतिक पूर्वाधारमा ध्यान दिएको बताए ।