सत्ताइस वर्षअघिको अपराधमा मृत्युदण्ड

ओक्लाहोमासिटी (अमेरिका), असोज ४ गते । सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ ।

वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवम् परीक्षण गरेर साञ्चेजमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो । ओक्लाहोमा कारागारमा रहेका उनलाई आज बिहान १० बजे तीन वटा घातक सुइ लगाएर प्राणदण्ड दिइएको हो ।

 

साञ्चेजले सम्भावित आममाफीको विकल्पलाई त्यागेर मृत्युलाई स्वीकार गरेका छन् । राज्यको आममाफी तथा मुक्ति परिषदमा आवेदन गर्न अस्वीकार गरेर उनले जीवनप्रतिको वितृष्णा प्रस्तुत गरेका उनका धेरै आफन्तले बताएका छन् । यद्यपि उनका वकिलले मृत्युदण्ड रोक्न गरेको अपिललाई अदालतले अस्वीकार गरेको थियो ।

 

अदालतले सान्चेजलाई अर्कान्सास निवासी २१ वर्षीया जुली बुस्केनलाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो । सन् १९९६ को डिसेम्बर २० मा नर्मन अपार्टमेन्ट कम्प्लेक्सको पार्किङ स्थलबाट अपहरणमा परेकी उनको शव त्यसैदिन साँझ नर्मन अपार्टमेन्टबाट धेरै टाढा दक्षिणपूर्वी ओक्लाहोमा शहरको ताल नजिकै फेला परेको थियो ।  हातखुट्टा बाँधिएको र टाउकोमा गोली हानेर मारिएको अवस्थामा बुस्केनको शव भेटिएको थियो । रासस/एपी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...