काठमाडौँ, असोज ११ गते । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।
समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनामा विद्युत् प्रयोगमार्फत पानी खण्डीकरण गर्ने प्रविधि इलेक्ट्रोलाइसिस प्रयोग गरी एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने उल्लेख छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन हरित एमोनिया र दुई लाख ८६ हजार ९७५ मेट्रिक टन हरित एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।
उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला एसडिएन बिएचडीका प्रबन्ध निर्देशक बाउमहिदीअब्देलाईले हस्ताक्षर गर्नुभएको हो । मलेसियन सो कम्पनीले सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार २०७९ पुसमा विद्युत् शक्तिको उपयोग गरी मल उत्पादन गर्न प्रस्ताव पेस गरेको थियो ।
सोही प्रस्ताव अनुसार लगानी बोर्डको गत चैतमा सम्पन्न ५३ औँ बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।समझदारीपत्रको प्रावधानबमोजिम प्रस्तावक कम्पनीले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेस गर्ने छ ।
हस्ताक्षर समारोहमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत्लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।