पोखरा, असोज १४ गते ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले महानगरका सबैभन्दा बढी उमेरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता र पिता सम्मान’बाट सम्मान गरेको छ ।
३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १ सय ५ वर्षीया इन्द्रकला गौतम र १ सय ३ वर्षीय प्रजापति पोखरेललाई महानगरले सम्मान गरेको हो ।
महानगरपालिका वडा नम्वर ७ की गौतम र वडा नम्वर २६ का पोखरेललाई सम्वन्धित वडा कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । पोखरा ७ मा आयोजित कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष राममोहन आचार्यले नगद १५ हजार, सम्मानपत्र, दोसल्ला र मालाले सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रमपछि बोल्दै उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको बताउदै भन्नुभयो,“ ज्येष्ठ नागरिक हाम्रा भगवान हुन् । त्यसैले उहाँको सम्मान गर्नुपर्छ ।” ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान गनुपर्छ भन्ने उद्देश्यले महानगरले माता पिता सम्मान कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।
ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट ब्यवस्था गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक घरका मुली हुने भएकाले राम्रो ब्यवहार र मिठो बोलि बचन सहित सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, ज्येष्ठ नागरिक मञ्चका सदस्य शिबबहादुर कार्की, ज्येष्ठ नागरिक कमला बराल, ज्येष्ठ नागरिक मञ्च पोखरा ७ का अध्यक्ष डिल्लीराम बराल, इश्वर बन्धु गौतम लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालन सामाजिक विकास अधिकृत विष्णुमाया पौडेलले गर्नुभएको थियो ।
त्यस्तै वडा नम्वर २६ का प्रजापति पोखरेललाई आज दिउसो नगर पिताबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । वडामा आयोजना हुने कार्यक्रममा महानगर पिता प्रजापति पोखरेललाई नगद २५ हजार,सम्मानपत्र र दोसल्ला ओढाएर गर्ने कार्यक्रम रहेको छ ।