काठमाडौ, कार्तिक १६ गते ।कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ बिश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरिया तर्फ प्रस्थान गर्नेभएका छन् ।
नोभेम्बर २ देखि १० तारिख सम्म आयोजना हुने कोर्समा नेपालका तर्फबाट शुभ श्रेष्ठ, विनोद तन्डुकार, लक्ष्मी मगर र आस नारायण चौधरीले सहभागीता जनाउन लागेको नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए । महासचिव सुनुवारका अनुसार शुभ, विनोद र लक्ष्मीले लेभल २ र आशनारायणले लेभल १ कोर्समा सहभागिता जनाउने छन् ।
कोरिया जाने प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले बिहिबार विदाई गरे । विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, महासचिव एवं नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठको उपस्थिती रहेको थियो ।
छोटो समयमानै अन्तर्राष्ट्रिय खेल मञ्चमा आफ्नो उपस्थितीलाई पुष्टि गर्दै पदक हासिल गर्न सफल यस खेलले उच्च स्तरको प्रशिक्षक उत्पादनका साथ अझै राम्रा र स्तरिय खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने महासचिव सुनुवारले बताए ।प्रशिक्षकहरु आजै राती कोरिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।