पाेखरा ,कार्तिक १८ गते ।जाजरकोटकाे रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्यामा १४३ पुगेको छ ।

जाजरकोटमा शुक्रबार राती आएको भूकम्पले रुकुम पश्चिमको आठविसकोट नगरपालिका- १२ मा भत्किएको घर। तस्बिर रासस
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्चिममा ३८ जना गरी अहिलेसम्म १४३ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीयसँगै ठूलो भौतिक क्षति पुर्याएको छ ।भुकम्प प्रभावित क्षेत्रमा उद्वारकाे काम भैरहेकाे छ ।