नगरकोटमा पर्यटकीय गतिविधि बढाउन महोत्सव

भक्तपुर, कात्तिक २१ ग्ते । भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति नगरकोटमा आयोजना गर्न लागेको महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । उहाँले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको सङ्ख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो ।

 

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको बताउनुभयो । महोत्सवमा आउने पर्यटकले स्थानीय रैथाने खानाको स्वादसँगै राष्ट्रिय एवम् स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने उहाँको भनाइ छ ।

 

महोत्सवमा चङ्गा चेट प्रतियोगिता पनि हुने भएको छ । नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधिभर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । अध्यक्ष गुरुङले केही होटलले आन्तरिकरुपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताउनुभयो ।

 

चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष एवम् समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन महोत्सव सफल हुने बताउनुभयो ।

 

उहाँले चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको र त्यसका लागि नगरपालिकाले यसवर्ष पर्यटन पूर्वाधारको विकासका लागि एक करोड बजेट विनियोजन गरेको बताउनुभयो । समितिका अध्यक्ष गुरुङका अनुसार नगरकोटमा एकदेखि चारतारेसम्मका ८२ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन् । रासस 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...