पोखरा । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी स्थित खेतमा पानी लैजाने क्रममा माछा मार्ने उद्देश्यले करेण्ट समेत जोडेकोले करेन्ट लागेर मुस्ताङ जोमसोम घर भई हाल पटनेरी बस्दै आउनु भएका ४६ वर्षका भीमलाल सुनार र उहाँकी श्रीमती ४६ वर्षकी सावित्री सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार दिउसो करिब ४ः०० बजे स्थानीयले करेण्ट लागेर दुई जना घाइते भएको अवस्थामा प्रहरीलाई खबर गरे पछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटना स्थलमा पुगी उहाँहरूलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुराएसँगै चिकित्सकले केही समय पश्चात् मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरबाट बिद्युत् लाइन जडान गरी करेण्ट लगाएर माछा मार्ने क्रममा एक्कासी पानीमा छुन पुगेसँगै उनीहरुलाई करेण्ट लागेको स्थानीयहरूले बताउनु भयो ।
मृतक सुनारका दुई छोरी र सावित्रीको गर्भमा पाँच महिनाको शिशु भएको बताइएको छ । सुनारकी तीन वर्षकी छोरी साथमै हुनुहुन्छ भने १४ वर्षकी छोरी जोमसोममै बस्दै आउनु भएको उहाँका आफन्तले जानकारी दिनुभयो ।