पोखरा । पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता मंसिर ७ गतेद्ेखि १५ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिता बारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पुरा भएको र १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुुब आचार्यले जानकारी दिए । प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ ।
त्यसै गरि यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक शत्ति गौचनले जानकारी दिएका छन् । एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो । प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिउको छ । खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन् ।
प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।
प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।
यसै गरि हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ । पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ र सचिव शुवर्ण श्रेष्ठले प्रतियोगिताका बारेमा स्पष्ट पारेका थिए ।प्रतियोगिता सम्पन्न गर्न मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।