पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच खेल हुँदैछ । आर्मी र मधेशबीचको फाइनल खेल आज मध्यान्ह साढे १२ बजेबाट पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।
आर्मीको कप्तानी विनोद भण्डारीले गरेका छन् भने मधेशको कप्तानी हरिशंकर शाहले गरेका छन् । आर्मीले यसअघिका सबै खेलमा शतप्रतिशत जित निकालेका छ भने मधेश एक खेलमा पराजित भएको छ । सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेट र मधेश प्रदेशले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)लाई ११ रनले पराजित गर्दै फाइनल पुुुुगेको हो ।
आर्मी राष्ट्रिय खेलाडीले भरिपूर्ण छ । कप्तान विनोदसँगै नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, अनुभवी सोमपाल कामी, जितेन्द्र मुखिया, कुशल मल्ल, भीम सार्की, विवेक यादव, अभिनाश बोहरा, सन्दीप रजाइली, राजेश पुलामी मगर, शाहब आलम, सन्तोष कार्की जस्ता खेलाडी आर्मीमा छन् । लाइनअफ हेर्दा आर्मीको ब्याटिङ एकदमै मजबुत देखिन्छ ।
बलिङमा पनि विश्वकप खेलिसकेका जितेन्द्र मुखियादेखि नेपालकै उत्कृष्ट बलर सोमपाल कामी आर्मीको टिममा छन् । आर्मीले प्रतियोगिता भरी नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । मधेश प्रदेशले पनि यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आर्मीलाई पक्कै पनि मधेशसँग खेल्न सहज भने हुने छैन ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको मधेश प्रदेश सुदूरपश्चिमलाई ठुलो अन्तरले पराजित गर्दै सेमिफाइनलको कमजोर यात्रा कायमै राखेको थियो । अप्रत्याशित रूपमा पुलिस सुदूरपश्चिमसँग पराजित हुँदा मधेशलाई सेमिफाइनलको यात्रा तय गरेको थियो ।सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) लाई पन्छाउँदै मधेश फाइलनमा प्रवेश गरेको हो । मधेशमा लामो समय नेपालको किपिङ सम्हालेका अनिलकुमार शाह, पवन सराफ, हरिशंकर शाह, इम्रान शेख, प्रदीप पासवान, साम्सद अन्सारी, विशाल पटेल, विशाल सुस्लिङ, रुपेश सिंह जस्ता खेलाडी छन् ।
मदेसले भने दुई बलियो विभागीय टिमलाई पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो । सेमिफाइनल खेल जस्तै फाइनलमा पनि नर्मल प्लानिङ बनाएको मधेश प्रदेशका कप्तान हरिशंकर शाहले बताए । ‘मिलाएर हेर्दा बलिङ, ब्याटिङ, फिल्डिङ तीन वटै राम्रो भयो । फाइनलमा पनि नर्मल प्लानिङ हो । त्यस्तो केही छैन । राम्रो ठाउँमा बलिङ गर्ने, ब्याटिङ अर्डरमै आउने नर्मल प्लानिङमै खेल्ने हो,’ उनले भने ।
सबैले राम्रो खेलिराखेकाले सोचेर अगाडि बढ्नुपर्ने स्थिति आएको आर्मीका कप्तान विनोद भण्डारीले बताए । उनले भने, ‘धेरै सोच्नुपर्छ जस्तो मलाई लाग्दैन । तर, प्लानिङ हो एपीएफ पर्छ की अरू कोही पर्छ की भनेर सोचिराखेका थियौँ । सबैले राम्रो क्रिकेट खेलिराखेको छ । हामीले सोच्नुपर्छ स्थिति छ कसरी अगाडि बढ्ने हो भन्ने कुरा चाहिँ ।’
प्रतियोगिताको विजेता टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।