फेवा किनारमा नव बर्ष महोत्सव सुरु

पोखरा, २९ चैत । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको छ । पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सवको उद्घाटन गरिएको हो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच उद्घाटन गरे । महोत्सवको आरम्भ गर्दै आचार्यले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवा तालका विषयमा अदालतले गरेको ६५ मिटर सम्वन्धि फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी दिंदै उनले कसैलाई अन्याय नहुने गरी महानगर अगाडि बढ्ने बताए ।

 

पोखरा पर्यटनको राजधानी घोषणा भएको सन्दर्भ स्मरण गराउँदै प्रमुख आचार्यले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटक मैत्री हुनुपर्ने बताए । रातभरि सञ्चालन हुने रात्रिकालिन व्यवसायको लागि छुट्टै अनुमति लिनुपर्ने र आबश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरी महानगरले तयारी अगाडि बढाएको जानकारी उनले गराए ।

 

सो अवसरमा बोल्दै आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले रत्यौली, पंचैबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको जानकारी गराए । निःशुल्क प्रवेशको व्यवस्था भएको र स्थानीय ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजित महोत्सवका पाहुनलाई होटलको विलमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको पनि संयोजक सुवेदीले जानकारी दिए ।

 

वाराही आरतिको प्रस्तुती र एसके डान्सका तर्फबाट नृत्य प्रस्तुत गरी सुरु गरिएको महोत्सवमा दर्जनौं झाँकी र जातीय तथा सामाजिक पोशाकमा सजिएका समूहहरुको सहभागिता रहेको थियो । महोत्सव उद्घाटन अघि निकालिएका झाँकी र र्याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेका थिए । महोत्सवमा पर्यटक दौड, विभिन्न खानाहरुको विक्री तथा प्रस्तुती, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुती समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

 

कार्यक्रमका अवसरमा होटल संघ नेपालका केन्द्रिय अध्यक्ष विनायक शाह, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङ, आयोजक संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठ, महिला सञ्जाल पोखरा ६ कि अध्यक्ष बबिता मल्लले भनाई राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...