पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको मुख्यमन्त्री अधिकारीद्धारा उद्घाटन

पोखरा । पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालको गण्डकी प्रदेशका मुुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

२२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि औपचारीक रुपमा सञ्चालमा ल्याएको हो । पोखरा महानगरपालिका–३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो ।बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।

 

चिकित्सा शिक्षाका कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यास गर्न अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने र विशिष्टीकृत सेवा प्रदान गर्ने विश्वविद्यालयका डिन अमर नागिलाले बताउनुुभयो ।

 

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।

 

अस्पतालले आगामी दिनमा शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा. दीपेन्द्रकुमार यादवले जानकारी दिनुुभयो ।

 

अस्पतालमा ४० कर्मचारीमध्ये ६ जना कन्सल्टेन्ट डाक्टर, ६ जना मेडिकल अफिसर, डेन्टल अफिसर र प्रयोगशालातर्फका जनशक्ति रहेका पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन सह–प्रा.डा. अमर नागिलाले जानकारी दिनुुभयो ।

 

एमबीबीएस अध्यापन सुरु गर्न कम्तीमा ३०० बेडको अस्पताल चाहिने र आगामी दिनमा त्यो लक्ष्य पूरा गर्ने नागिलाले जानकारी दिनुुभयो ।१०० बेडसम्मको शिक्षण अस्पतालको अनुमति गण्डकी प्रदेश सरकारले दिएको मुख्यमन्त्री खगराज अधिकारीले बताए । मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गरेर नागरिकको विश्वास जित्न अधिकारीले अस्पताललाई आग्रह गर्नुुभयो ।

 

विश्वविद्यालयका विद्यार्थीले अन्य अस्पतालमा गएर प्रयोगात्मक अभ्यास गर्नुपर्ने परिस्थितिको अन्त्य गर्दै यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सुलभ र सहजता प्रदान गर्ने उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले बताउनुुभयो ।

 

अन्य विश्वविद्यालयले खर्चको ८० प्रतिशत अनुदान पाए पनि पोखराले १० प्रतिशत मात्रै अनुदान पाएको उहाँको गुनासो थियो । अस्पताल चलाउन पहिलेकै एउटा भवनसँगै ७ करोड रुपैयाँ लगानीमा नयाँ भवन बनाइएको छ । उपकरणसहित करिब १५ करोड रुपैयाँ लगानीमा अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको बताइएकोछ । अस्पतालका लागि भारतीय दूताबासले एउटा एम्बुलेन्स प्रदान गरेको छ भने विभिन्न संघसंस्थाले उपकरण सहयोग गरेका छन् ।

 

पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कुल अफ हेल्थ एण्ड एलाइट साइन्स र शिक्षण अस्पताल रहेको छ । स्कुल अफ हेल्थ एण्ड एलाइट साइन्स अन्तर्गत स्नातक तहमा नर्सिङका दुई कार्यक्रम (बीएनएफ र बिएस्सी नर्सिङ), बीफार्मेसी, बीपीएच र बीपीटी गरी ६ वटा कार्यक्रम सञ्चालनमा छ ।स्नातकोत्तर तहमा ६ वटा कार्यक्रम सञ्चालनमा छन् । यसै शैक्षिक सत्रदेखि हेल्थ साइन्समा विद्यावारिधी (पीएचडी) कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...