अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८१ पत्रकार पराजुलीलाई

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८१ पत्रकार रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र छ ।

यो तेस्रो पुरस्कार हो । छनौट भएका पत्रकार पराजुली विगत २९ वर्षदेखि सुरूमा पोखरा र हाल काठमांडौलाई कार्यक्षेत्र बनाएर पर्यटन लगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी नेपाल टेलिभिजनमा आवद्ध छन् । यस अघि नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, नेपालीपत्र साप्ताहिक, सारथी साप्ताहिक लगायतका पत्रिकामा समेत संलग्न हुनुहुन्थ्यो ।

 

नेपाल टेलिभिजनमै साप्ताहिक रुपमा शिक्षा विवेचना कार्यक्रम सञ्चालन गर्दै आउनुभएका पराजुलीले आफ्नो कार्यक्रममा पर्यटन शिक्षाको अवस्था, देखिएका चुनौति र गर्नुपर्ने सुधारका बारेमा समेत छलफल चलाउँदै आउनुभएको छ । यसैगरि उहाँ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल माउन्टेन एकेडेमीमा ‘पर्वतारोहण व्यवस्थापन’ विषयको समेत प्राध्यापन गर्दै आउनुभएको छ ।

 

तेस्रोपटक प्रदान गर्न लागिएको पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २१ गतेका दिन वितरण गरिनेछ। यस अघि पहिलो पटक सो पुरस्कार पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार तथा दोस्रोपटक रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

 

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनोट समितिले पुरस्कृत व्यक्तिको चयन गरेको हो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराई, पत्रकार एवं समितिका मिडिया संयोजक टंकराज अधिकारी हुनुहुन्छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ समितिको पदेन सदस्य रहने व्यवस्था छ ।

 

पर्यटन समितिको मंगलवार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकार पराजुलीलाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक राजबहादुर गुरूङले बताउनुभयो ।

 

अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण भूमिका खेल्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिदै आएको समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आँउदो जेठ २१ गते घान्द्रुकमा आयोजना हुने चौथो अन्नपूर्ण म्याराथन समापन समारोहमा वितरण गरिने छ ।
म्याराथनको सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ ।

 

अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए । महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रोहुनेले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्कार ब्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

 

म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ । कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन, अन्नपूर्ण समाज काठमाडौंको सहकार्यमा सम्पन्न हुन गईरहेको म्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यू-पार्क व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, भूपू खेलाडी मञ्च, नेपाल एड्भेन्चर रनिङ महासंघ, सि आइ डब्लु ई सी क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गरेका छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...