युवाले नगरपालिकामा पेश गरे सुधारका ३६ सवाल

सिन्धुली । १६ देखि २० वर्षका युवाले विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि ३६ वटा सवाल नगरपालिकामा पेश गरेका छन् ।युवा नागरिक अंकपत्र मार्फत पहिचान र वर्गीकरण गरिएका सवालहरु किशोर तथा युवाहरुले बुधबार कमलामाई नगरपालिकामा पेश गरेका हुन् ।अधिकांश सवाल वा मागहरु नगरपालिकाले एकै आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममा समावेश गरी समाधान गर्न सकिने किसिमका रहेका छन् ।


उनीहरुले सवालहरुको सूची पेश गर्दै नगरपालिका स्थानीय सरकार भएको र आधारभूत शिक्षा तथा आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकारको विषय भएकोले नीतिगत र कार्यक्रमगत रुपमा सम्बोधन गर्नका लागि अनुरोध समेत गरे ।“स्थानीय सरकार हाम्रो अभिभावक र संरक्षक दुबै हो”, सवाल पेश गर्नेमध्येका एक युवा …………. भन्छन्, “त्यसैले हामीले स्थानीय सरकारलाई आफूहरुले पहिचान गरेका सवाल पेश गरेका हौं ।”

 

कमलामाई नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम समेत सञ्चालनमा रहेको छ । बालबालिका र पहिलो वर्गका युवाहरुको अलग्गै बाल भेला आयोजना गरी उनीहरुसँग सम्बन्धित योजनाहरुलाई वार्षिक विकास योजनामा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । “हामी आफैले गर्नुपर्ने कार्य भाइ बहिनीहरुले गरिरहनुभएको छ, हामीलाई निकै खुशी लागेको छ”, कमलामाई नगरपालिकाका नगर उपप्रमुख मञ्जु देवकोटाको भनाइ छ, “हामीले यी सबै सवालउपर नगरपालिकाको आउँदो कार्यपालिका बैठकमा छलफल गरी वार्षिक विकास योजनामा समावेश गरेर लैजान्छौं ।”

 

“स्वास्थ्य तर्फका २१ र शिक्षा तर्फका १५ गरी ३६ वटा सवालहरुको सूची पेश गर्दै युवाहरुले सबै सवाललाई सम्बोधन गर्नका लागि नगर प्रमुखलाई अनुरोध समेत गरेका छन्”, युवाहरुलाई युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याउन सहजीकरण गरिरहेको संस्था ह्याण्ड्स नेपालका युवा संलग्नता अधिकृत सदीक्षा न्यौपानेको भनाइ छ, “नगरपालिकाले समेत यसलाई सकारात्मक रुपमा लिएको र कार्यपालिका बैठकमा छलफल गरिने नगर उपप्रमुखले बताउनुभएको छ ।”

 

युवाहरुले पेश गरेका सवालहरुमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित सवालमा विद्यालयमा खानेपानी तथा शौचालय पर्याप्त नभएको, महिनावारीमैत्री शौचालय नभएको, विद्यालयमा सरसफाइको कमी, दिवा खाजाको स्वच्छता, बसाइको उचित व्यवस्थापन, बालमैत्री फर्निचरको व्यवस्थापन लगायतका विषय समावेश गरिएका छन् ।

 

स्वास्थ्यतर्फ नागरिकलाई सुसूचित गर्न नागरिक वडापत्र राख्नुपर्ने, महिलाका लागि विरामी जाँच कक्षको व्यवस्था गर्नुपर्ने, किशोर तथा किशोरीका लागि परामर्श कक्षको व्यवस्था हुनुपर्ने, नेपाल सरकारले तोके बमोजिम औषधीको उपलब्धता, स्वास्थ्य संस्थाबाट नियमित रुपमा समुदाय तथा विद्यालयमा स्वास्थ्य शिक्षा लगायतका सवाल रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...