पाताले छाँगो आफैँले संचालन गर्ने पोखरा महानगरको असफल प्रयास

पोखरा, माघ २ गते । पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो डेभिज फलको गेटमा पोखरा महानगरपालिकाले ताला लगाएको छ । महानगरले मंगलबार प्रवेशद्धारमा ताला लगाएको हो । छाँगोको सञ्चालन माघ १ गतेबाट महानगरले गर्ने भन्दै नगर प्रहरी र कर्मचारी पठाएपछि स्थानीयले विरोध गरेका थिए । विरोध पछि पोखरा महानगर र स्थानीय दुवैले गेटमा ताला लगाएपछि अहिले बन्द रहेको छ ।

छाँगोमा प्रवेश टिकटबाट शुल्क लिएर पोखरा–१७ को छोरेपाटन माविले यसको व्यवस्थपन गर्दै आएको थियो । प्रवेश टिकटबाट वार्षिक ४ करोड रुपैयाँको हाराहारीमा सङ्कलन हुने गरेको दावी विद्यालयले गरेको छ । विद्यालयले त्यही रकमबाट भौतिक पूर्वाधार बनाउनेदेखि शिक्षकलाई तलब समेत दिदै आएको छ ।

 

महानगरपालिकाले छाँगोमा सिसाको पुल लगायतका पूर्वाधार निर्माण गर्ने र सञ्चालन गर्न निजी कम्पनीलाई दिने सम्झौता गरिसकेको छ । माघ १ देखि महानगरले छाँगोको सञ्चालन र व्यवस्थापन गर्ने तयारी गरेको भएपनि दोश्रो प्रयास पनि सफल भएको छैन् । यसअघि गत कात्तिकमा पनि महानगरले आफुुले संचालन गर्ने भन्दै नगर प्रहरी र कर्मचारी पठाएपनि स्थानीयको अवरोधका कारण असफल भएको थियो । महानगरको दोश्रो प्रयास असफल भएसंगै लगाइएको ताला कहिले र कसरी खुल्छ त्यो भने चासोको विषय रहने छ ।

 

छोरेपाटन माविले २०३४ चैत ३१ देखि छाँगो सञ्चालन गर्दै आएको थियो । तत्कालीन नगर योजना समितिले छाँगो छोरेपाटन माविलाई हकभोग गर्न दिएको थियो । अहिले छाँगोवरिपरि तीन दर्जन व्यावसायिक सटरसमेत छन् ।

 

छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम भुसाल छाँगोको आम्दानीको ४० प्रतिशत त्यसकै व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयमा खर्च हुने गरेका बताउनुहुन्छ । छोरेपाटन विद्यालयमा एक सय १० शिक्षक तथा कर्मचारी रहेकोमा ९० जना त्यसकै आम्दानीबाट राखिएको उहाँको भनाइ छ ।

महानगनरले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता थियो । सम्झौताबारे विवाद भएपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...