पोखरा । पोखरा महानगरपालिका १९ चुरुङ्गामा आयोजना हुन लागेको श्रीदुर्गा पाञ्चायन मन्दिर प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञ हुने भएकाे छ ।
श्री दुर्गा मन्दिर एवं गौरीशङ्कर ब्रह्माविद्यापीठको आयोजनामा चैत्र १६ गतेदेखि २५ गतेसम्म महायज्ञ गर्ने तयारी गरिएको छ ।चुरुङ्गाका स्थानीयहरु यतिबेला महायज्ञ सफल बनाउन जुटेका छन्।
नवरात्रको अवसर पारेर ऐतिहासिक अम्रेश्वर शिवालय काउरे गुफाको सिद्ध क्षेत्रमा पोखरा महानगरकै नयाँ शक्ति पीठ र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा निर्मित दुर्गा पञ्चायन मन्दिरको प्राण प्रतिष्ठा एवं श्री श्रीमद्देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मुल आयाेजक समितिका महासचिव बिकास गाैतमले जानकारी दिनुभयाे ।
महायज्ञ मूल आयोजक समितिका महासचिव गौतमका अनुसार चुरुङ्गास्थित ब्रह्मा विद्यापीठ परिसरमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी तथा विभिन्न सङ्घसंस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु. २ करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितका ढुङ्गाको विशाल कलात्मक मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणकार्यमा हालसम्म झण्डै एक करोड ७० लाख खर्च भैसकेको महासचिव गौतमले जानकारी दिनुभयाे ।
महेश सन्यास आश्रम देवघाट धामका संस्थापक डा. गिरीसहित एकसय पचासभन्दा बढि बटुक तथा सन्त, आचार्यहरूको विशेष उपस्थितिमा चैत्र १६ गते कलशयात्रासहित महायज्ञ उद्घाटन हुने छ । महायज्ञको दोस्रो दिन महायज्ञ एवं मन्दिर प्रतिष्ठा, चैत्र २२ गते मूर्ति प्राणप्रतिष्ठा तथा दशौँ दिन पूर्णाहुति एवं महायज्ञ समापन गरिने छ । महोत्सवका लागी निमन्त्रणा र प्रचारप्रसारको काम तिव्र रुपमा भइरहेको प्रचारप्रसार संयोजक दयाराम गौतमले जानकारी दिनुभयाे ।
महायज्ञमा दैनिक मण्डप पुजा, कथावाचन, आरती र प्रसाद ग्रहण कार्यक्रम हुने छन् । यस्तै ५ सय सम्मको भेटी दान गर्नेहरूको दानपत्रमा नाम लेखिने छ भने ५ लाखभन्दा बढि दान गर्नेहरूलाई आजीवन सदस्यसहित अभिनन्दन गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ढाकामोहन गौतमले जानकारी दिनुभयाे ।
वि.सं. २०७२ सालअघि यस क्षेत्रमा सानो जीर्ण मन्दिर रहेको थियो । हाल यहाँ शिखर शैलीको दुर्गा पञ्चायन मन्दिर निर्माण गरिएको छ । यो मन्दिरको डिजाइन आर्किटेक्ट लवकुमार नेपालले गरेका हुन् । उनहाले पोखरा धार्मिकसँगै पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण स्थल भएकाले शिखरशैलीको मन्दिर निर्माण गरिएको आर्किटेक्ट लवकुमार नेपालले जानकारी दिनुभयाे ।