पोखरा ।पाेखरा महानगरपालिका वडा नम्बर ८ काे नवनिर्मित कार्यालय भवनकाे आज आैपचारीक रुपमा उद्घाटन गरिएको छ ।
पाेखराकाे न्युरोड स्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्दै आएकाे भएपनि आजबाट आैपचारीक रुपमा उद्घाटन गरेकाे हाे ।पाेखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन ।
पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन निर्माण भएकाे हाे । २०७८ साल माघमा उक्त भवनकाे शिलान्यास तत्कालीन कार्यबाहक प्रमुखकाे रुपमा मञ्जुदेवी गुरुङले गर्नुभएकाे थियाे ।
मेयर आचार्यले पोखराको न्यूरोडलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताए ।
महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालय नजिकको सरकार भएको बताइन् । उनले महानगरले वडालाई धेरै भन्दा धेरै अधिकार दिएको भन्दै वडाले नै नै ५० लाखसम्मको योजना अघि बढाउन पाउने अधिकार रहेको स्पष्ट पारिन् । महानगरपालिका वडावासी र वडा कार्यालयकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने उनले बताइन् ।
पोखरा–८ का वडाध्यक्ष रूद्रनाथ बरालले वडा कार्यालय पोखराकै मुटु भएको बताए । उनले १५ आनाको जग्गामा महानगरको ४० र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट वडाभवन निर्माण गरिएको बताए । वडा कार्यालय लिफ्टसहितको बनेको उनको भनाइ छ ।
नयाँ कार्यालय भवन सञ्चालनमा आएपछि नागरिक सेवा प्रवाह थप सहज भएको उनको भनाइ छ । वडाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने भन्दै उनले नयाँ भवनले नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउने दावी गरे । स्थानीय सरकारको प्रभावकारी कामका लागि भौतिक संरचनाको विकास अपरिहार्य रहेको उनको भनाइ छ ।
यस भवनबाट वडावासीले सबै प्रकारका प्रशासनिक सेवा सहज रूपमा पाउने छन् । स्थानीय तहको सेवा प्रभावकारी बनाउन डिजिटल प्रणालीसमेत लागू गरिने बराले बताए ।
कार्यक्रममा पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, एमाले पोखरा–८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा पोखरा ८ का अध्यक्ष का बाबुराम चालिसे, हातेमालो आमा समूहका अध्यक्ष अपीला बराललगायतले बोलेका थिए ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासदस्य पवित्रा पौडेल केसीले र सञ्चालन वडासचिव झंकनाथ पौडेलले गरेका थिए ।