पोखरा,चैत १८ गते । पोखरामा १२ औँ संस्करणको आलु महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २५ मा चैत २४ देखि बैशाख ३ गतेसम्म आलु महोत्सव हुने भएको हो । सुन्दर गाँउ हेमजा जाँउ आलुका स्वादिष्ट परिकार खाँऔ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ विष्णुपादुका क्लव हेमजाको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लबका वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । हेमजलाई देश विदेशमा परिचित गराई हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पुर्याउने, सामाजिक एकता साथै यहाँको कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउने लक्ष्य सहित महोत्सव आयोजना गरिएको जानकारी दिए ।हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको वृहत् प्रदर्शन तथा प्रचार प्रसार गर्ने, हेमजालाई व्यवसायीक कृषि पर्यटनको रुपमा देश विदेशमा चिनाउने, व्यवसायीक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने तथा क्लबको भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गरने महोत्सवको उदेश्य रहेको उनले बताए ।
महोत्सवमा आलुका परिकार स्टल, व्यवसायिक स्टल, कृषि प्रविधि प्रदर्शनी रहने आयोजकले जनाएको छ ।महोत्सवको मुख्य आकर्षणको रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट बिरुवा परिक्षण तथा रोग निधान, कृषक र कृषि सम्वन्धि बिबिध सांस्कृतिक कार्यक्रम, कृषि झाँक्री प्रतियोगिता, चर्चित कलाकारहरुको प्रस्तुति, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रहरुको प्रदर्शनी रहने आयोजकले बताएको छ । महोत्वमा विक्रीकालागि ४० मेट्रिक टन आलु तयारी अबस्थामा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव स्थलमा बढीमा ४२ रूपैयाँ प्रति केजीका दरले आलु बिक्री गरिने बताइएको छ ।
हेमजाको ५९० हेक्टरमा आलु खेती हुने गरेको छ । एक हजार ५० कृषकले व्यावसायिक रुपमा आलु उत्पादन गर्ने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हेमजाका २ हजार घर परिवार कृषिमा आधारित रहेका छन भने १ हजार ५० कृषिकले ब्यवसायीक रुपमा आलु खेती गदै आएका छन । महोत्सवले हेमजा र सिंगो पोखरालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको बताउदै पोखरा २५ का वडा अध्यक्ष मोति तिमिल्सिेनाले महोत्सवले पोखरा भ्रमण वर्ष २०२५लाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख माधव लम्साल, कृषि ज्ञान केन्द्र हेमजाका प्रमुख रामकृष्ण अर्याल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र क्लबका महासचिव हिक्मत थापा लगायतले महोत्सवको बारेमा बोल्नु भएको थियो ।