पोखरा, ३१ चैत । पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् ।यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे । महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी सुविधा पाएका छन् । मायाको चिनो, प्रमाणपत्र, सिइङ हेण्ड्स ब्लाइण्ड मसाज क्लिनिकबाट मसाज सेवा र ब्यञ्जन रेष्टुरेण्टबाट खाना पनि उनीहरुले पाएका छन् ।
![]()

द्वितीय हुनेले हाइग्राउण्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गरे । एटिभी चार पांग्रे विशेष खालको सवारीमा गरिने सहासिक यात्रा हो । यसैगरी सिइङ हेण्डबाट ५० प्रतिशत शुल्क छुटसहितको मसाज र ब्यञ्जनमा खाना सुविधा पनि उनीहरुले पाउने छन् । तृतीय हुनेले हाइग्राउण्डबाट जिपलाइन सेवा, सिइङ हेण्डबाट २५ प्रतिशत शुल्क छुटसहितको मसाज सेवा र व्यञ्जनमा खाना पनि पाउने छन् । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउण्डबाट स्वीङ सेवा लिने छन् । निःशुल्क टिसट, अन्नपूर्ण केवल कार र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सेवा सबै सहभागीले पाएका छन् ।
खहरे र अम्बोट विचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका कूल ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिंदै प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
महोत्सव अन्तर्गत शनिबारको तालिकामा संस्थागत व्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ व्याण्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेका छन् ।