सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान गर्न सक्छन्

पाेखरा ।  सामाजिक कार्यका विद्यार्थीहरुले समाजमा धेरै योगदान दिन सक्ने  बुधबार पाेखरामा आयाेजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन्।लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको  ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी संस्था’ विषयक सहयाेग सम्वाद कार्यक्रममा उनीहरुले यसबारे चर्चा गरेका हुन् ।

स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन अनुसन्धान गराउँदै आएकाे लेकसिटी कलेजले पछिल्लाे समय सरकारी र गैरसरकारी क्षेत्रमा यसकाे आवश्यकता बढेसँगै सराेकारवालासँग विद्यार्थीकाे संवाद कार्यक्रम आयाेजना गरेकाे थियाे । समाजमा सचेतना फैलाउन र शिक्षा तथा सीप विकासमा सामाजिक कार्यका विद्यार्थीकाे भूमिका महत्वपूर्ण रहेकाे मानिन्छ । सामाजिक अध्ययन अनुसन्धान र स्वयम्सेवकका रुपमा रहेर पनि उनीहरुले याेगदान दिने गरेका छन् ।

कार्यक्रमका प्रमूख वक्ता गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले युवाहरुले समाजकाे दिगो विकासमा योगदान दिनु पर्ने भएकाले उनीहरुमा नयाँ सोच हुन आवश्यक रहेकाे बताए।  ‘सामाजिक कार्यमा आवद्ध संघसंस्था र शैक्षिक संस्थाका वीच सिकाइ तथा अनुभव आदनप्रदान, अध्ययन अनुसन्धान र स्वयम्सेवक परिचालनममा सहकार्य गर्न पर्छ ‘ सुवेदीकाे भनाइ छ ।

गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य, मानवअधिकार, सामाजिक न्याय, आर्थिक सशक्तिकरण लगायतका कार्यमा महत्वपूर्ण योगदान दिएको  उनकाे धारणा छ । नेपालमा नागरिक संस्थाहरु राणाकालिन, पञ्चायतकालिन र बहुदलीय प्रजातन्त्रकालिन गरि तीन चरणमा विकास भएको हाे ।  ‘राणा कालमा संघसंस्था खोल्न पाइदैनथ्यो तर पनि चर्खा उद्योग, गुठी र केही धार्मिक संघसंस्था त्यो अवधीमा खोलिएको थियो’ उनी भन्छन् ।

नेपालमा विस २००७ देखि २०१७ सालको अवधीमा रेडक्रस जस्ता संस्थाहरु खोलिएको र विस २०४६ साल पछिको अवधि गैरसरकारी संस्थाका लागि स्वर्णीमकाल रहेको मानिन्छ । विगतमा करुणा, वर्तमानमा अधिकार र भविष्यमा साझेदारीको अवधारणमा गैरसरकारी क्षेत्र अगाडि बढेकाे उनकाे भनाइ छ ।

कोपिला नेपालका कार्यकारी निर्देशक वीना सिलवालले सामाजिक कार्यलाई जागिरका रुपमा भन्दा पनि मानवसेवाका रुपमा हेर्नु पर्ने भन्दै जेसुकै काम गरे पनि सामाजिक भावना भए योगदान गर्न सकिने बताइन् । सिलवालका अनुसार हाम्रो समाजमा देखिएका समस्याहरु विभिन्न खालका विभेदका कारण सृजना भएको हो ।

आर्थिक, लैंगिक, राजनीतिक, सामाजिक, भौगोलिक, जातीय विभेदका कारण समस्या निम्तिएकाले विभेदरहित भावना हाम्रो मनमा सृजना गर्नका लागि युवाहरु परिवर्तन हुनुपर्नेमा उनको जोड छ ।पोखरा रिर्सच सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले सामाजिक कार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन, अनुसन्धान,व्यवस्थापन लगायतका क्षेत्रमा आफूलाई कहाँ नेर जोड्न सकिन्छ भनेर ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।अध्ययन अनुसन्धानले मात्र समाजको वास्तविक धरातल थाहा नहुने भएकाले गैरसरकारी संघसंस्था मार्फत अनुभव लिनु पर्ने रेग्मीकाे भनाइ छ ।

एसओएस चिल्ड्रेनका प्रदीप भक्त आचार्यले सामाजिक कार्य अध्ययन अनुसन्धान गरेका युवाहरुको आवश्यकता विभिन्न गैरसरकारी संस्थालाई रहेको बताए । आचार्यले संचार सीप, सूचना प्रविधि र अरु ज्ञानका क्षेत्रमा समेत जानकार भएर अगाडि बढ्न विद्यार्थीहरुसँग आग्रह गरेका छन् । असल छिमेक नेपालका कार्यकारी अधिकृत दिनेश केसीले सामाजिक कार्यको अध्ययनले समाजसेवाको भावनालाई थप सशक्त बनाउन सहयोग गर्ने धारणा राखेका छन् । तर व्यवहारिक ज्ञानका लागि भने विद्यार्थीहरु काममा पनि लाग्नु संलग्न हुनुपर्ने केसीकाे भनाइ छ ।

गैरसरकारी संस्था महासंघ कास्कीका निर्वतमान अध्यक्ष डा वुध्दि थापाले सामाजिक कार्यमा संलग्न हुनेले जनताको चासो र चिन्ता केमा छ भनेर पत्ता लगाउन सक्नु पर्ने बताए । मानव सेवा आश्रम कास्कीका संयोजक तथा केन्द्रीय सदस्य सदिस पुनले नेपाल आर्थिकरुपमा अरु देशभन्दा कमजोर भए पनि मानवीय भावनामा भने अग्रस्थानमा रहेको तथ्य स्मरण गराए । लेकसिटीका पूर्व विद्यार्थी समेत रहेका पुनले सामाजिक कार्यमा लागिरहँदा करुणाभाव, अनुशासन, स्पष्ट दृष्टिकोण आदि हुनु पर्नेमा जाेड दिए ।

कलेजकी पूर्वविद्यार्थी स्वस्तिमा मानन्धरले सामाजिक कार्य अध्ययन अनुसन्धान अन्तर्गत विद्यार्थीहरुले पाउन सक्ने अवसरहरु बारेमा पनि पर्याप्त छलफल हुन नसकेको अनुभव सुनाइन् । संवाद कार्यक्रममा सहभागी हुँदै कलेजमा अध्ययनरत विद्यार्थी सन्देश शर्माले संविधानमा रोजगारीलाई मौलिक हकका रुपमा उल्लेख गरिएको र हालै सरकारले ल्याएको पढ्दै कमाउँदै अभियानका वीच सामन्जस्यताको आवश्यकता रहेको बताए ।

उनले गैरसरकारी संस्थाले विद्यार्थीलाई इन्टर्नसिप दिने सन्दर्भमा सरकारसँग साझेदारीमा काम गर्न सक्ने सुझाव दिए ।त्यस्तै अर्की विद्यार्थी दीपा दवाडीले गैरसरकारी संस्थाहरुमा कर्मचारी आवश्यक पर्दा गर्ने विज्ञापनमा सामाजिक कार्य विषय अध्ययन गरेकालाई प्राथमिकता नदिएको गुनासो गरिन्

कार्यक्रमकी सभापति अस्मिता रानाभाटले सामाजिक कार्य विषय अध्ययन, अनुसन्धान र कार्य गरिरहेकाहरुलाई लाइसेन्सको व्यवस्था गरिनु पर्ने बताइन् । कलेजकी विद्यार्थी समेत रहेकी रानाभाटका अनुसार उच्च शिक्षा लिएर पनि भविष्यमा लाइसेन्सका कारण समस्या हुन सक्ने भएकाले राज्यले आवश्यक कानुन निर्माणमा ध्यान दिनु पर्छ ।

कलेजका सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले समाजको स्थिति बुझाउन कलेजले विद्यार्थीहरुलाई देशका विभिन्न क्षेत्रको भ्रमण गराउने गरेको जानकारी दिए । कलेज अन्र्तगत रहेको सोसल क्लबले विविध कार्यक्रम गरिरहेको उनको भनाइ छ ।

समाज विज्ञान केन्द्रका संयाेजक अनिष पाैडेलले लेकसिटी कलेजले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर आफ्ना विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराएको जानकारी दिएका छन् । त्यसैगरी इन्टर्नसिपमा जाने कलेजका विद्यार्थीका लागि व्यवहारिक ज्ञान लिन सहयोगी हुने विश्वासमा यो कार्यक्रम आयोजना गरिएको पाैडेलको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगर पालिकाको सामाजिक शाखाकी सूचना अधिकृत चन्द्रावती वाग्ले, समाजशास्त्री डा रामचन्द्र बरालले सामाजिक कार्य विषयमा प्रकाश पारेका थिए । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गतकाे समाज विज्ञान केन्द्नले १० वर्षदेखि समसायिक विषयमा नियमित छलफल गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने जनाएकाे छ । कलेजमा स्नातक तहमा सामाजिक कार्य सहित विविएस र बिएमा अंग्रेजी र पत्रकारिता पढाई हुँदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...