
“धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।
मन्त्री थापाले कृषकहरुले पसिना बगाएर हामीले अन्न खान पाएको उल्लेख गरे । कृषिलाई व्यवसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन आवश्यक रहेको उनले औंल्याए । कृषि क्षेत्रको व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको भनाई उनको छ ।
उनले कृषि व्यवसायमा हुनसक्ने जोखिम न्यूनीकरण गरी कृषकको हित संरक्षण गर्न बीमा प्रिमियममा सहुलियत र व्यवसाय प्रवद्र्धनका लागि गण्डकी सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताए ।
खाद्य सुरक्षाको क्षेत्रमा प्रमुख भूमिका खेल्ने बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि समुदायस्तरमा चैतेधान तथा प्रशोधनयोग्य आलु उत्पादन सम्वन्धी कार्यक्रमको निरन्तरतामा गण्डकी सरकारले जोड दिएको भनाई उनको छ ।
कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण, विविधीकरण तथा औद्योगिकरणका लागि लगानी आकर्षित गर्न सार्वजनिक, निजी तथा समुदायको सहकार्यमा कृषि विकास कार्यक्रम ल्याइएको उनले जानकारी गराए ।
नेपाल किसान महासंघ कास्कीका सभापति पुण्डरी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की, नेपाल किसान महासंघ केन्द्रकी सदस्य नम्रता बराल लगायतले बोलेका थिए । कार्यक्रममा धान रोपाई सँगसँगै हिले दौड प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम राखिएको थियो । नेपाल किसान महासंघ कास्कीले वर्षेनी असार १५ गते रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।