पाेखरा, असार २१ गते । लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” शनिबार लाेकार्पण गरिएको छ ।
कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा उपन्यासकाे गृह लाेकार्पण गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कतिपय संस्कृति लोप हुँदै गइरहेको अवस्थामा फरक समुदायको व्यक्तिले नेवारी समुदायको विषयमा कथा वस्तु लेख्नु आश्चर्यजनक र सुखद पक्ष रहेको बताउनुभयाे ।
उहाँले विविध कारणले नेपालीहरू बिदेसिन बाध्य रहेको औँल्याउँदै खास गरी पश्चिमा मुलुकमा गएका पहिलो पुस्ताले आफ्नो पहिचान नभुले पनि दोस्रो पुस्ताले आफ्नो देश, भाषा र संस्कृति बिर्सिँदै गइरहेको अवस्थामा अमेरिकामा रहेको युवाले आफ्नो पुर्खा खोज्दै आफ्नो हकदावी पेश गर्नु उपन्यासकाे महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयाे ।
कवि तथा लेखक गनेस पौडेलले लेखक कार्की फोटोग्राफी तर्फ अत्यन्त रुचि राख्ने र मूलतः मानवीय संवेदनालाई छुन सक्ने एउटा भावात्मक र प्रेमिल मनका व्यक्ति भएको बताउनुभयाे ।
उहाँले यस उपन्यासको सुरुवाती लेखनका क्रममा लेखक कार्कीले उपन्यासको परिकल्पना सुनाएको स्मरण गर्दै त्यति बेलै पहिलो अध्याय सुनेर आनन्दित भएको र सुन्दर किताब आउँदैछ भन्ने महसुस गरेको बताउनुभयाे ।
उपन्यासमाथि चर्चा गर्दै साहित्यकार, विश्लेषक तथा लेखक गौरी तमुले ‘कुनै एक समुदायको संस्कृतिलाई अर्को समुदायले कसरी हेरिरहेको हुन्छ ?’ भन्ने कुरा उपन्यास मिथकको हकदावी ले देखाउन खोजेको बताउनुभयाे ।
उहाँले नेपालमा रहेका धेरै समुदायका संस्कृतिहरू लोप भइसकेको अवस्थामा नेवारी समुदायका युवायुवती आज पनि आफ्नो संस्कार संस्कृतिलाई बचाउन सक्रिय रहेको भन्दै अन्य जाति समुदायले पनि आफ्नो संस्कृतिको संरक्षण गर्न युवापुस्तालाई अगाडि बढाउनुपर्छ भन्ने यो उपन्यासले सिकाएको बताउनुभयाे ।
उपन्यासमाथि समीक्षा गर्दै लेखक, समीक्षक त्रिवेणीले मिथकको हकदावीले साहित्यीक क्षेत्रलाई थप बलियो बनाउनुभयाे ।उहाँले उपन्यासमा एउटा पात्र विदेशी भूमिबाट आएर यो माटो संस्कृति समाज र यो देश मेरो हो भनेर जसरी हकदावी पेश गर्न खोजेको छ, त्यसरी नै पछिल्लो समय नेपालमा पनि आफ्नो थातथलो फर्कने प्रचलन सुरुवात भएको भन्दै उपन्यास मिथकको हकदावीलाई त्यो अर्थमा सामाजिक यथार्थवादी सुन्दर पुस्तक मान्न सकिने बताउनुभयाे ।