आफना उम्मेदवार हराउन भुमिका खेलेकाे भन्दै काँग्रेसद्वारा केसी,खड्का र श्रेष्ठलाई कारबाही

पोखरा । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेद्वारलाई पराजित गर्न भूमिका खेलेको आरोपमा कास्कीका पूर्वसभापति कृष्णबहादुर केसी, महासमिति सदस्य कुमार खड्का र कास्की क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कार्वाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठक निर्णय बुधबार सार्वजनिक गरिएको छ । जसमा केसीलाई तीन महिना र खड्कालाई एक वर्ष निलम्बन गरिएको छ । साथै श्रेष्ठलाई छ महिनाका लागि निष्काशन गरिएको बताइन्छ ।

 

खड्का र श्रेष्ठले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रदेशसभा सदस्य पदको निर्वाचनमा होमिँदा असहयोग गरेको आरोप छ । थापाले निर्वाचन भने जितेका थिए । खड्काले थापाकै स्थानमा निर्वाचन लड्ने अपेक्षा राखे पनि पार्टीले थापालाई टिकट दिएको थियो । श्रेष्ठ भने पोखरा ९ वडा सदस्यसमेत हुन् ।

 

यसैगरी पूर्वसभापति केसीमाथि पार्टी सभापतिसमेत रहेका किशोरदत्त बराल कास्की क्षेत्र नं १ बाट निर्वाचनमा होमिएका बेला सहयोग गर्नुको साटो हराउन भूमिका खेलेको आरोप छ । निर्वाचनको मत परिणामलगत्तै केसीको घरमा ढुंगामुढासमेत भएको थियो ।

 

स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ । कारबाही निस्कासन र निलम्बन गरी दुई प्रकृतिको गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...