पोखरा, साउन ७ गते । बचत तथा ऋण सहकारी संस्थाको सञ्चालनसम्बन्धी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको ‘नियामक मापदण्ड २०८२’ का केही प्रावधान संशोधन गर्न दबाब दिन राष्ट्रिय सहकारी महासंघले गठन गरेको नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलले सक्रियता तीव्र पार्ने बताएको छ । महासंघले मिति २०८२ जेष्ठ २४ गतेको सचिवालय समितिको निर्णयअनुसार गठित नियामक मापदण्ड संशोधन सहजीकरण कार्यदलको बुधबार बसेको बैठकले बहस पैरवीलाई तिव्रता दिने त्यसले समस्या समाधान नभए दबाबमुलक कार्यक्रम समेत गर्ने निर्णय गरेको हो ।
बैठक महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यदल संयोजक रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा विभिन्न निकाय—नेपाल राष्ट्र बैंक, नियमन प्राधिकरण, सहकारी विभाग, प्रदेश सरकार र स्थानीय तहबाट फरकफरक निर्देशन आउँदा सहकारी क्षेत्रमा अन्यौलता उत्पन्न भएको भन्दै कार्यदलले तत्काल स्पष्टता र एकरुपता ल्याउन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बैठकले नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मासँग तत्काल भेट गरी, हालका निर्देशनहरूले सहकारी क्षेत्रमा पारेको प्रभावबारे जानकारी गराउँदै तत्काल मापदण्ड संशोधनका लागि आग्रह गर्ने निर्णय गरेको छ । साथै, कार्यदलले भर्खरै सहकारी विभागद्वारा जारी १०२ बुँदे एकीकृत निर्देशनको अध्ययन गर्ने र यसका सकारात्मक पक्षको स्वागत गर्दै असहजता सिर्जना गर्ने प्रावधानहरूमा सुधारको माग गर्ने तयारी गरेको छ ।
कार्यदल यसअघि नै महासंघकी अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिसकेको छ । सो भेटमा प्रधानमन्त्रीले विस्तृत छलफलको आश्वासन दिनुभएको थियो । कार्यदलले त्यसको समेत तयारी गरिरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । त्यस्तै, कार्यदलले नियमन प्राधिकरणमा मागपत्र पेश गर्नुका साथै प्रमुख राजनीतिक दलका महासचिवहरू, सहकारी विभाग प्रमुखलगायत सरोकारवाला निकायसँग भेटवार्ता गरिसकेको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सर्वसाधारणलाई वित्तीय सेवा दिन सक्रिय बचत तथा ऋण सहकारी अभियानलाई सुशासनसहित सुदृढ बनाउने उद्देश्यका साथ कार्यदलको सक्रियता अझ बढ्ने बताउनुभयो । कार्यदलको सहसंयोजकमा महासंघका उपाध्यक्ष डिबी बस्नेत हुनुहुन्छ । सदस्यमा महासंघका संचालक परितोष पौड्याल, नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, तथा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र मकवानपुर जिल्लाका बचत तथा ऋण सहकारी संघका अध्यक्षहरू क्रमशः दीपक पनेरु, रामहरी बजगाईं, कृष्णगोविन्द लाखाजु, उदयराम कायस्थ र कल्पना श्रेष्ठ हुनुहुन्छ ।
प्राविधिक टिममा महासंघका कामु महाप्रबन्धक गोपीकृष्ण भण्डारी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, र बागमती प्रोस्कुनका सिइओ केशव दाहाल हुनुहुन्छ । कार्यदलले निकट भविष्यमा ठोस कार्ययोजना सार्वजनिक गर्दै सहकारी क्षेत्रको हितमा व्यापक दवाब सिर्जना गर्ने संकेत दिएको हो ।