पोखराको विश्वशान्ति स्तूप

पोखरा, साउन ७ गते । विश्व शान्ति स्तूप पोखरा महानगरपलिका–२२ पुम्दीभुम्दी गाविस वडा नम्बर १ स्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको धार्मिक तथा पर्यटकीय स्थान हो ।

पोखरा महानगरपलिका–२२ पुम्दीभुम्दीमा अवस्थित विश्वशान्ति स्तूप । उक्त स्थान धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ । तस्बिर : राधिका कँडेल / रासस

 

पोखरा पुग्ने करिब नब्बे प्रतिशत विदेशी पर्यटक यस स्तूपको अवलोकनका लागि पुग्ने गर्दछन् भने आन्तरिक पर्यटकहरूको पनि गन्तव्यको पहिलो रोजाई यही ठाउँ हुने गरेको छ । गौतम बुद्धको अस्थिधातु राखेर जापानी शैलीमा निर्मित शान्ति स्तूपमा पुगेपछि सांच्चिकै शान्तिको अनुभूति हुने पर्यटकहरूको भनाइ छ ।

पर्यटकीय नगरी पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममा रहेको यस स्तूपको उचाइ १ सय १५ फिट गोलाइ ३ सय ४४ फिट छ । मनमोहक दृश्य अवलोकनका लागि प्रख्यात सो स्तूप करिब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ । स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राका बुद्धको विशेष मूर्ति, पश्चिममा श्रीलङ्काबाट प्राप्त ध्यान मुद्राको बुद्ध मूर्ति, उत्तरमा थाइल्याण्डबाट प्राप्त ढलोटबाट निर्मित ६ फिट लामो महापरिनिर्वाण बुद्ध मूर्ति र दक्षिण दिशामा नेपालमा बनेको सिद्धार्थको जन्ममूर्ति राखिएको छ। उत्तरमा माछापुच्छ्रे हिमाल, सराङकोट अनि काखमा फेवाताल बोकेको यस स्तूप अत्यन्तै रमणीय पर्यटकीय स्थल हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...