काँग्रेस नेता केसी लगायतको कारबाही फिर्ता गर्न माग

पोखरा, साउन ८ गते ।नेपाली काँग्रेस कास्कीका नेताहरुमाथिको कारबाही फिर्ताको माग बरोबर उठिरहेको छ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकीका पूर्व मन्त्री कुमार खड्का र भावना श्रेष्ठलगायतमाथि गरिएको अनुशासन कारबाही फिर्ताको माग गरेको हो ।

बुधबार बसेको क्षेत्रीय बैठकले अनुशासनको कारबाही अनुमोदन नगर्नू भनी काँग्रेस सभापति शेरबहादुर देउवा र अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई छुट्टाछुट्टै पत्र पठाएको छ ।

 

 

क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेद्वारा हस्ताक्षरित सो पत्रमा अनुशासन समितिबाट गरिएका निर्णय कांग्रेसको विधानको मर्म र प्रक्रियासँग मेल नखाने, भेदभावपूर्ण, अपरिपक्व र असान्दर्भिक भएको उल्लेख छ ।

 

गत असार २५ गते भएको निलम्बन एवं निष्कासनको निर्णयले पार्टी झन् झन् कमजोर हुने देखिएकोले प्रत्येक कार्यकर्ताको मानसपटलमा चिराचिरा पार्ने र संगठनमा अपूरणीय क्षति हुने भएकाले उक्त कारबाही पुनरावलोकन फिर्ता गरी अनुशासन समितिले गरेको निर्णय अनुमोदन नगर्न अनुरोध गरिएको छ ।

 

यसअघि निर्वाचन क्षेत्रका उम्मेदवारबाट कारबाही सिफारिस भए पनि सोही क्षेत्रका जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका र विभिन्न गाउँपालिकाका पदाधिकारीहरूको संयुक्त बैठकले सो कारबाहीको संस्थागत असहमति जनाउँदै कारबाही खारेज गर्न आग्रह गरेको हो ।

 

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ कास्कीले सभापति शेर बहादुर देउवा र अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पत्र लेख्दै नेताहरु कृष्ण बहादुर केसी, कुमार खड्का, भावना श्रेष्ठ लगायतमाथि गरिएको कारबाही अनुमोदन नगरी र पुनरावलोकन फिर्ता गर्दै सम्पूर्ण कारबाही फिर्ता लिन माग गरेको छ । कारबाहीले सोही निर्वाचन क्षेत्रका नेता, कार्यकर्ताहरु संस्थागत रुपमा सो करबाहीको विपक्षमा देखिएका छन् ।

 

यसैगरी, अनुशासन समितिले २०७९ को स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई आधार मानी ढुंगाना संयोजक रहेको अनुशासन समितिले बहुमतको नाममा ३ वर्ष अन्तरालमा गरिएको कारबाही विधानलाई ख्याल नगरी, अनुचित, अपरिपक्व, असान्दर्भिक र भेदभावपूर्ण रहेको ठहर गरिएको छ ।

 

पत्रमा सभापति देउवालाई सुदृढ, एकता र विभाजनरहित बनाई सहयोग गर्न माग गरिएको छ । यो मागबारे सो क्षेत्रको बैठकमा जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका, गाउँपालिकाका पदाधिकारीको संयुक्त बैठकले निर्णय गरेको कांग्रेस क्षेत्रीय सभापति सभापति लामिछानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 

देशैभरी क्रियाशील सदस्यता नविकरण चलिरहेको अवस्थामा धेरै कार्यकर्ताले केका लागि नविकरण गर्ने भनी अनिच्छा प्रकट गरिरहेका छन् । पार्टी अधिवेशनको संघारमा रहेको बेलामा महाधिवेशन नजिक गरिएको कारबाहीले झन् निराशा छाएको बताइएको छ भने नयाँ भन्ने पार्टीहरुको टोल टोलमा सदस्यता बनाउने कार्यको दबदबा बढिरहेको छ । यो स्थितिको ख्याल गर्दै निलम्वन निस्कासनको सम्पूर्ण कारबाही फिर्ता गर्न माग गरिएको छ ।

 

जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका, गाउँपालिकाका पदाधिकारीको संयुक्त बैठकमा ९२ जना उपस्थित थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...