पाखरा,साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्कनुभएको छ । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ फर्कनुभएको हो ।

भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव महामहिम Wang Zhungjun सँग भेट गर्नुभयो । भेटका क्रममा मुख्यमन्त्रीले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित संचालन गरी दुई देशबिचको व्यापार, पर्यटन प्रर्वद्धनका लागि सहकार्यको प्रस्ताव गर्नुभयो ।
तिब्बतको नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका शहरहरुबाट काठमाडौँ पोखरा सीधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबिच लगानी र पर्यटन प्रर्वद्धनका क्षेत्रमा सम्बन्ध कायम राख्दै विस्तार गर्ने, नेपाल र चीनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजिकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिषा र प्रवेशपास उपलब्धतामा सहजिकरण र सहकार्य गर्ने गराउने विषयमा मुख्यमन्त्रीले जोड दिनुभयो ।
तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधारहरु, पर्यटन प्रर्वद्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा प्रदेश सरकार आशावादी रहेको उहाँको भनाई थियो ।
सिपिसीका महासचिव महामहिम Wang Zhungjun ले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारको प्रयासबारे आँफु जानकार रहेको बताउँदै महामहिम वाङले यो राम्रो सहकार्यको अवसर हुन सक्ने र यसबारे तिब्बत सरकार पनि सकारात्मक रहेको बताउनुभयो ।
तिब्बत सरकारको तर्फबाट गण्डकी प्रदेश सरकारसँग सँधै सहकार्य रहने र सम्भावनाहरुका बारेमा सँधै सकारात्मक रहेको बताउनुभयो । साथै उहाँले दुई देशबिच पर्यटन, कृषि, उद्योग लगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार सकारात्मक रहेको बताउनुभयो । २०२३ नोभेम्बरमा गण्डकी प्रदेशको भ्रमण गरेको स्मरण गर्दै उहाँले भ्रमणलाई दुबै तर्फबाट निरन्तरता दिँदै सम्बन्धलाई अझै प्रगाढ बनाउँदा सहकार्य गर्न सहज हुने बताउनुभएको थियो ।
सोही अवसरमा मुख्यमन्त्रीसंग सिपिसीका लिन्जी नगर समितिका पार्टी सचिव Ao Liuquan र सो नगरका मेयर Bata ले पनि भेट गर्नु भएको थियो । भेटका क्रममा मुख्यमन्त्रीले नेपालको पर्यटन राजधानी पोखरासँग लिन्जी शहरले गर्दै आएको सहयोग र सहकार्यको प्रशंसा गर्नुभयो । दुई शहरबिच पर्यटन, खेलकुद, व्यापार, लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय छलफल भएको थियो ।
उक्त भ्रमण उपलब्धिमूलक रहेको र यसलाई गण्डकी प्रदेश सरकार र तिब्बत सरकारले निरन्तरता दिने समझदारी भएको छ ।