रुसी अन्तरिक्ष प्रमुखले आठ वर्षपछि पहिलो पटक नासाका प्रमुखलाई भेट्ने

मस्को, साउन १३ गते । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख नासाका आफ्ना समकक्षीसँग भेट गर्न मङ्गलबार संयुक्त राज्य अमेरिका आइपुगेका छन् । युक्रेनमा मस्कोको आक्रमणले दुई अन्तरिक्ष अग्रगामी राष्ट्रबिचको सम्बन्धलाई शीतयुद्धयताकै निम्न स्तरमा पुर्याएपछि अन्तरिक्ष रुस र संयुक्त राज्य अमेरिकाबीच सहयोगका केही क्षेत्रहरूमध्ये एक भएको छ ।

“रोस्कोस्मोस प्रतिनिधिमण्डलका प्रमुख दिमित्री बाकानोभ नासाको नेतृत्वसँग भेट गर्न ह्युस्टन आइपुग्नुभएको छ । आठ वर्षमा रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीका प्रमुखहरूबिचको यो पहिलो आमनेसामने भेट हो”, रोस्कोस्मोसले एक विज्ञप्तिमा भनेको छ ।

 

नासाका कार्यवाहक प्रशासक सीन डफीसँगको बैठकमा बाकानोभले ‘क्रस-फ्लाइट कार्यक्रमको निरन्तरता’, ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) अपरेसनको विस्तार’ र आइएसएसलाई समुद्रमा परिक्रमा गर्ने योजनाका बारेमा पनि छलफल गर्नुहुने उहाँले विज्ञप्तिमा बताउनुभएको छ ।

 

रूसी अधिकारीले जुलाई ३१ का लागि निर्धारित स्पेसएक्सको क्रू ड्र्यागन अन्तरिक्ष यानमा प्रक्षेपण गर्नुअघि अन्तरिक्ष यात्री ओलेग प्लाटोनोभसहित नासाको क्रू-११ मिसन टोलीलाई पनि भेट्नुहुनेछ । रुसी अन्तरिक्ष एजेन्सीका भर्खरै नियुक्त प्रमुखले नासाको लिन्डन बी जोन्सन स्पेस सेन्टरका साथै अन्तरिक्षयान उत्पादन गर्ने बोइङ र स्पेसएक्सका सुविधाहरूको भ्रमण पनि गर्नुहुनेछ ।

 

युक्रेनमाथिको आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूको एक भागका रूपमा धेरै पश्चिमी देशले रोस्कोस्मोससँगको साझेदारी बन्द गरेको भए पनि सोयुज आइएसएसमा पुग्नसक्ने केही अन्तरिक्षयानमध्ये एक हो । दशकौँदेखि देशका लागि गर्वको स्रोत रहेको रुसको अन्तरिक्ष कार्यक्रम वर्षौंदेखि दीर्घकालीन कोषको अभाव, भ्रष्टाचारका काण्डहरू र सन् २०२३ अगस्टमा लुना-२५ अनुसन्धान यानजस्ता असफलताहरूबाट पीडित छ । रासस/एएफपी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...