पाेखरा,साउन २१ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले लागुआैषध सहित तीन जनालाई पक्राउ गरेकाे छ ।
पोखराको बिरौटा घारीकुलो बस्ने ३२ वर्षीया रिना थापा मगर, स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भई हाल बिरौटा बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत घर भई हाल बिरौटा बस्ने ३९ वर्षीया मिना थापा मल्ललाई पक्राउ गरेको हाे।
जिप्रका र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले बिरौटाबाट उनीहरुलाई ५०१ एम्पुल लागुऔषध र तीन थान मोबाइलसहित मंगलबार साँझ पक्राउ गरेको हो ।
बिरौटा क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरोको पोखरा शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब पौने ८ बजे उनीहरु बस्ने कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको कोठाबाट डाइजापाम १६६ एम्पुल, फेनेरागन १६९ एम्पुल र नुर्फिन १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल लागूऔषध बरामद भएको हो । प्रहरीले उनीहरुको साथबाट कारोबारमा प्रयोग भएको आशंकामा तीन थान मोबाइल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको जनाएको छ ।