सिटीवानको तीज गीत प्रतियोगितामा देवीस्थान भजन महिला समुह प्रथम

पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीज गीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समुह प्रथम भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सहभागी ४० समूह मध्य अब्बल बन्दै प्रथम भएको देवीस्थानले नगद ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप हात पार्न सफल भयो ।

प्रतियोगितामा पोखरा २५ को कमलजोशी आमा समुह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समुह सान्त्वना भयो । उनीहरूले क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर हात पारे । यसैगरी विधागततर्फ उत्कृष्ट नृत्य तर्फको पुरस्कार बालोदय सेकेन्डरी स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार महिला क्लब पोखरा ७ र उत्कृष्ट शब्द तर्फको पुरस्कार नेशनल इन्भेन्टिभ स्कुलको हातमा पर्‍यो । प्रोत्साहन पुरस्कार अम्मरसिंह माध्यमिक विद्यालयले जित्यो । विधागत र प्रोत्साहन तर्फको विजेताले नगद ५ हजार सहित गिफ्ट ह्याम्पर हात पारे ।

 

विजेतालाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापति, कार्यक्रम संयोजक वरिष्ठ सौन्दर्यविद् चिनु गुरुङ, निर्देशक हरिराज पन्त लगायतले पुरस्कार वितरण गरेका थिए ।समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले तीज गीत प्रतियोगिताको आयोजनाले संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे । मौलिक संस्कृति र रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले विकृतिको नियन्त्रण गर्दै संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सन्देशमूलक प्रस्तुतीले समाजमा सकारात्मक धारणाको विकास हुने उनको भनाइ थियो ।

 

यसअगाडि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले गरेकी थिइन् । उद्घाटन समारोहमा बोल्दै उपसभामुख थापाले तीज महिला एकताको दिनको रुपमा रहेको बताइन् । तीजमा भगवान र माइतीलाई सम्झने गरिएको भन्दै विगतका दिनको स्मरण मात्र गरिनन् गीत समेत सुनाइन् । उनले तीज गीत समय अनुसार परिष्कृत हुँदै गएको उल्लेख गरिन् । विगतका दिनमा दुःख वेदनाका कुरा गीत मार्फत भन्ने गरिएकोमा त्यसपछि हक अधिकारका विषय हुँदै अहिले शिक्षा, रोजगारी, आत्मनिर्भर लगायतका विषयमा गीत गाउने गरिएको उनको भनाइ थियो । देशमा राजनीतिक सामाजिक र आर्थिक रुपमा धेरैं परिवर्तन भएपनि सबै अधिकार प्राप्त भने भइनसकेको भन्दै अझै लड्नुपर्ने अवस्था रहेको बताइन् । गीत संगीतबाट दिएको सन्देश छिटो फैलने भएकोल तीज गीतको महत्व अझै पनि उतिकै रहेको उनले खुलाइन् ।

गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष धर्मराज वर्तौलाले गण्डकी प्रदेशको समृद्धिको लागि सरकारले पहल गर्नुपर्ने बताए । यहाँ बाझो रहेका खेतीयोग्य जमिनको पूर्ण सदुप्रयोग गरेर उत्पादन बढाउन सकेमा यहाँका जनताको आयमा वृद्धि हुने उनको विश्वास थियो । अन्य प्रदेशको तुलनामा गण्डकीका जनताको आयस्तर राम्रो देखिएपनि यसमा सन्तुष्ट हुने अवस्था भने नभएको उनको भनाइ थियो ।टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चिनु गुरुङले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । तीज पर्वको महत्व नयाँ पुस्तामाझ पुर्‍याउनका लागि कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास उनको थियो ।

सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ लगायतले तीज पर्व सहित तीज गीतको महत्वको बारेमा बोलेका थिए । कार्यक्रममा भारतीय पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेल, नेपाल मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अनिल ओडुविल लगायतकाको उपस्थिति रहेको थियो ।

 

प्रतियोगिताको निर्णायक संयोजकमा शङ्कर विरही गुरुङ, सदस्यमा अम्बिका भण्डारी र जुना क्षेत्री रहेका थिए । कार्यक्रममा सहजिकरण टेलिभिजनको प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ सहित सरला त्रिपाठी भण्डारी, रिमा शाही ठकुरी, आशा मगर, सीमा सुनारले गरेका थिए । निर्णायक द्वय अम्बिका भण्डारी र जुना क्षेत्रीले साङ्गीतिक प्रस्तुती समेत राखेका थिए ।

 

तीजको बेला सिटीवानको सांस्कृतिक मेला, चौँथो खुला तीज गीत प्रतियोगिता–२०८२’मा विभिन्न प्रकारका १५ वटा स्टल रहेका थिए । प्रतियोगीताको टाईटल स्पोन्सरमा गरीमा बिकास बैकं लिमिटेड रहेको थियो । मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैकं लिमिटेड र उप –प्रायोजकमा न्यु लुक्स व्युटी प्रोडक्ट, हिम श्री फुड्स प्रालिको रारा चाउचाउ तथा कर्माचार्यको क्रन्ची वाइफर रहेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...