पाेखरा, भदाै ९ गते। नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो ।
विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै २०८२ भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भदौ १३ गतेदेखि भने कालो व्यानर राखेर सूचना तथा प्रशारण विभागमा धर्ना दिने निर्णय गरेको छ ।
सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासंघको भनाइ छ ।
अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन् । नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ ।
बैठकमा महासंघकी अध्यक्ष निर्मला शर्माले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारू हुनुपर्ने माग गरिन् । उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले एकपछि अर्को कानुन बनाएर नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए ।
महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोकेर सरकारले असंवैधानिक कार्य गरेको बताए । सरकारको यस्तो हर्कतले नागरिकको संवैधानिक हक अवरुद्ध भएको उनको भनाइ छ । सरकारले तत्काल दर्ता र नवीकरणको काम सुचारु नगरे महासंघले आन्दोलन चर्काउने उनले बताए।
कोषाध्यक्ष रामकृष्ण अधिकारीले अनलाइन सञ्चारमाध्यको दर्ता तथा नविकरण प्रक्रिया रोकिदा प्रेस स्वतन्त्रता कुंठित भएको भन्दै तत्काल सेवा सुरु गर्नुपर्ने बताए।