लेखनाथ/भदौ ९ गते ।विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको छ ।पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षिय भेलामा विद्यार्थीहरुले उठाएको समस्याका लागि महानगरको शिक्षा महाशाखामा लेखी पठाउने सहमति भएको हो ।
विद्यार्थीहरुले उठाएका समस्या समाधानका समिति बनाई छानविन गर्न महानगर शिक्षा महाशाखालाई पत्राचार गर्ने सहमति भएको वडाध्यक्ष नरेन्द्र थापाले बताउनु भयो ।सहमति पश्चात विद्यार्थीले कुनै पनि निकाय अगाडी आन्दोलन नगर्ने र शिक्षकहरुले नियमित पठन पाठन गराउने सहमति भएको अध्यक्ष थापाले बताउनु भयो ।
छलफलका क्रममा छानविन पछि दोषी देखिएकालाई कारवाही गरिने प्रतिवद्धता जनाउँदै अध्यक्ष थापाले कसैको उक्साहटमा लागेर आन्दोलनमा नलाग्न सुझाव दिदै, केही समस्या भए सिधै आफुसँग राख्न आग्रह गर्नु भयो ।सिर्जना बहिरा मा.वि फरक प्रकृतिको विद्यालय भएकाले त्यहाँको समस्या समाधानका लागि आफु गंभिर रहेको अध्यक्ष थापाले बताउनु भयो ।
छलफलमा वडा अध्यक्ष थापा, वडा सदस्य तिर्थबहादुर राजभाट, वडा शिक्षा समितिका चन्द्रबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ सहित सदस्यहरु, गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाड, उपाध्यक्ष पार्वती भूजेल, महासचिव विश्वमित्र भिरकोटी, सल्लाहकार सुर्यमोहन बराल, दोभासे अञ्जली सुनार, विद्यार्थी प्रतिनिधि भेषराज ढकाल, अमित सुनार, मलिना श्रेष्ठ, अभिभावक गौरादेवी पाईजा रिंकु मगर, हृदयकुमार श्रेष्ठ सहितको सहभागिता रहेको थियो ।
विद्यालय प्रशासनले बिद्यार्थी विजय बि.क.लाई फसाएको, आफुहरुलाई सुरक्षा नभएको, पठन पाठनमा समस्या भएको, विद्यालयमा आर्थिक अनुशासन नभएको लगायतका समस्याहरु राख्दै आएको थिए ।आफुहरुको माग सुनुवाई नभएको भन्दै विद्यार्थीहरुले बिगत दुई दिन देखी विद्यालयमा पठन पाठन ठप्प पारी संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए ।