समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको छः प्रदेश प्रमुख भट्ट

पोखरा, २० भदौ/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उहाँको भनाई छ ।

पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो ।’ उहाँले भन्नुभयो ।समानता र सहअस्तित्वमा आधारित मानवताको सम्वर्द्धन  र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो ।

 

‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो ।’ उहाँले भन्नुभयो – ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’

 

हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने बताउनुभयो । मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उहाँले खुशी प्रकट गर्नुभयो ।तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उहाँको भनाई छ ।

 

‘मानव मिलन संस्थाले जाती, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताहरु भन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...