पोखरा, २१ भदौ/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ ।नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।

‘समाजमा अपांगता भएका व्यक्तिहरुप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ । मुलुकमा दशकौँदेखि व्याप्त रुढीवादी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ उहाँले भन्नुभयो ।रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । ‘अपाङ्गतामैत्री संरचना र सेवा अपरिहार्य आवश्यकता हो । अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अनिवार्य छ ।’ उहाँले भन्नुभयो ‘उनीहरूको सहजताका लागि आवश्यक ऐन, कानुन निर्माणमा राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्नैपर्ने हुन्छ ।’