
नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका संचारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो । कार्यक्रममा छोटो मन्तव्य राख्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी गराए । ‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार विस्तारा छन्’, उनले भने– सयौं रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन ।
अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरु पोखरा घुम्न आउनेमा आफूहरु आसावादी रहेको सुवेदीले सुनाए । आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शुन्यमा पुगे पनि आफूहरु पुनः उठ्नेमा विश्वस्त रहेको उनले बताए । ‘विभिन्न विपत्ती र अफ्ठ्याराहरु सामना गर्दै, पुनः उठ्दै हामी आएका छौं,’ एक भिडियो सन्देशमा सुवेदीले भनेका छन्, यो पटक पनि हामी पुनः उठ्ने छौं । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि संघका तर्फबाट दिइएको छ ।
अहिले पोखराका हिमालहरु पनि खुल्न थालेको, पर्यटकहरु पदयात्रामा जानेआउने क्रम नरोकिएको र शान्तिसुरक्षा पनि पूर्ववत् अवस्थामा रहेकाले पोखरा भ्रमणका लागि संघले पाहुनालाई आग्रह गरेको हो । यसैगरी होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पोखरा जिवित र चलायमान शहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठानहरु सेवाका लागि आतुर रहेको सन्देश जारी गरेका छन् । पोखरा निकै सुन्दर शहर रहेको भन्दै उनले एक भिडियो सन्देशमार्फत् यहाँको हरियाली र खुलेका हिमाल मुनी घुम्न र रमाउन आउनका लागि पाहुनालाई आग्रह गरे ।