पोखरा,असोज । गण्डकी प्रादेशिक क्रिकेट संघकाे चौथो वार्षिक साधारण सभा पाेखरामा सम्पन्न भएकाे छ। साधारणसभाकाे अवसरमा ७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको छ
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई संघको साधारण सभामा अवसरमा प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिनुभयो।
सम्मानिहुनेहरुमा महिला खेलाडीहरुमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनु भएको छ भने पुरुष तर्फ सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेल रहनु भएको छ । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले खेलाडी तथा खेलाडीहरलाई जनही नगद १० हजार रुपैयाँ सहित सम्मान गर्नुभयाे ।
मेयर आचार्यले नेपालमा सन् २०२७ मा आयोजना हुने यु १९ महिला विश्वकप क्रिकेटका लागि आफुहरु आवश्यक पूर्वाधार निर्माणको लागि सहजीकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले क्रिकेटका लागि पूर्वाधार निर्माणमा महानगरपालिका सकरात्मक रहेकाे बताउदै पोखरा रंगशालाको अधिकार हामीलाई नभएकाले चाहेरपनि काम गर्न सक्ने अबस्थामा नरहेकाले बताउनुभयो।
नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पूर्वाधार नहुदाँ चाहेर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसकिने दाबी गर्नु भयो । पूर्वाधारसहित सुरक्षा चुनौतिमा ध्यान दिन आग्रह गर्दै उहाँले जिल्ला र प्रदेश क्रिकेट संघ बलियो भएमात्रै केन्द्रीय संघ बलियो हुने तर्क गर्नुभयो ।
संघका केन्द्रीय सदस्य सुदिप शर्माले सन २०२७ मा महिला यु १९ विश्वकप आयोजना गर्ने संघारमा रहँदा पोखराको विकल्प नभएको बताउदै यसमा अभियानकै रुपमा अघि बढाउन सुझाव दिनुभयो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको लागि काठमाण्डौं पछि अर्को विकल्प पोखरा रहेको तर्क गर्दै उहाँले त्यसको लागि पोखरामा पूर्वाधार निर्माण अत्यावश्यक भएको दाबी गर्नुभयो ।
प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य विनय थापाले प्रदेश सरकारले विनियोजन गर्ने बजेट पनि व्यवहारिक नभएको दाबी गर्नुभयो । रिजल्ट दिने खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउदै उहाँले सबै खेलसंघलाई एकै ढंगले हेर्न नहुने उल्लेख गर्नुभयो ।
साधारण सभामा कास्की,तनहुँ, पर्वत, बाग्लुङ, स्याङजा र नवलपुरका जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा बसेको साधारण सभामा केही महिना अघि आयोजित महिला क्रिकेट प्रतियोगिता तर्फ सहभागि भएका कास्की, पर्वत, स्याङजा र नवलपुरका खेलाडीहरुलाई १६ थान क्रिकेट जुक्ता(रबर स्पाईक) हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ लगायतले क्रिकेटको बारेमा चर्चा गर्नुभयो ।