पूर्वराष्ट्रपतिलाई विवादित बनाएर सक्रिय राजनीतिमा ल्याउनु उचित होइन: केन्द्रीय सदस्य ढुङ्गेलले

ललितपुर, असोज ३० । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीभित्र अब ज्युँदो एकताको यात्रा सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी दसौँ केन्द्रीय कमिटीको जारी बैठकमा प्रस्तुत विचारमार्फत अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको एकताबद्ध प्रस्तावसहित प्रस्तुत गर्नुभएको विशेष प्रस्तावलाई समर्थन गर्दै उहाँले पार्टीभित्र ‘जिउँदो एकताको अभ्यास’ आरम्भ हुनेमा दृढ विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विगतमा पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न संगठनात्मक अभियानहरू ग्रासरूट अभियान, जरा अभियान, झुलाघाट चिया भञ्ज्याङ अभियान, युवा सम्मेलन, ‘एक बडा–१० युवाको खोजी’ तथा पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणलाई स्मरण गर्दै ती अभियानहरूका उद्देश्य र परिणामबारे पुनःमूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यी अभियानहरू कार्यकर्ता परिचालन र संगठन सुदृढीकरणका दृष्टिले ऐतिहासिक भए पनि तिनको सार्थकता आत्मसमीक्षा मार्फत अझ गहिरो बनाउने बेला आएको उहाँको धारणा छ ।

 

ढुङ्गेलले भदौ २३ र २४ गतेका घटनालाई निर्मम समीक्षा गर्नुपर्ने विषय भएको बताउँदै त्यसमा बाह्य हस्तक्षेप र भित्री कमजोरी दुवैको बारे अध्ययन हुने पर्ने धारणा राख्नु भयो । ‘ जिम्मा लिने कोही छैन, देशभित्र जित्ने कोही छैन, सुरक्षा अङ्गको भूमिका संशयपूर्ण, आक्रमण हामी माथि हो, बालेन, रवि, प्रचण्ड र दुर्गा प्रसाईँहरू सबै यो आन्दोलनमा हारेका हुन, कांग्रेस र हामी माथिको आक्रमण देखियो, जित्यो को त ?’ उहाँले प्रश्न गर्नुभयो ।

 

उहाँले हाल पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा भइरहेका बहसलाई असमयको बहस भएको बताउँदै यसबारेको निर्णय आगामी महाधिवेशनमै हुने स्पष्ट पार्नुभयो । ‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनु हुँदैन, विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो- जो मिति प्रस्ताव नै भइसकेको छ, सम्पूर्ण आन्तरिक समस्याको समाधानको थलो हामीले त्यसैलाई मान्नु पर्दछ’, उहाँले भन्नुभयो ।

 

ढुङ्गेलले आगामी पुस्ताका लागि नेतृत्व विकासको नयाँ अवधारणा तयार गर्नुपर्ने प्रस्ताव पनि बैठकमा राख्नुभयो । उहाँले अनुभव र नयाँ पुस्ताबिच सन्तुलन कायम गर्न ६० र ४० प्रतिशतको अनुपातमा नेतृत्व समावेशीकरण गर्नुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, ‘बहालवाला नेतृत्वको ६० प्रतिशत अनुभव र नयाँ पुस्ताको ४० प्रतिशत ऊर्जा मिलाएर मात्र पार्टीलाई दीर्घकालीन रूपमा सशक्त बनाउन सकिन्छ ।’

 

उहाँले केन्द्रदेखि तल्लो तहसम्म यही प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो । ढुङ्गेलले एमालेले अब बलियो र निर्णायक शक्ति निर्माणको नेतृत्व लिनुपर्ने बताउँदै लोकतन्त्र र संविधानका रक्षकहरूबिच सहकार्य र संवाद बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सहकार्य र संवादका लागि एउटा साझा कार्यदल गठन गरेर राष्ट्रिय आन्दोलनको रूपमै अघि बढ्नु पर्छ, यो बेला सहकार्यको राजनीति अपरिहार्य छ ।’

 

युवापुस्तालाई सक्रिय बनाउने सन्दर्भमा उहाँले सहरका विभिन्न स्थानमा कन्सर्ट र सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि दिनुभयो । उहाँका अनुसार नयाँ पुस्ता आफ्ना सामाजिक र सांस्कृतिक अभिव्यक्तिहरूका माध्यमबाट देश र राजनीतिसँग जोडिन चाहन्छ, त्यसलाई पार्टीले सहज बनाउनु आवश्यक छ ।

 

पूर्व राष्ट्रपति विद्या भण्डारीबारे हाल राजनीतिक वृत्तमा देखिएको विवादमा ढुङ्गेलले संयम अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिलाई विवादित बनाएर सक्रिय राजनीतिमा ल्याउनु उचित होइन, ल्याउनै परे सर्वसम्मत ढङ्गले जिम्मेवारी स्पष्ट गरी ल्याउनुपर्छ, नत्र अनावश्यक विवादले संगठनात्मक सन्तुलन बिगार्छ ।’

 

एमालेले जनभावना र राष्ट्रिय स्वाभिमानको जगमा एकता पुनः स्थापित गर्दै देशलाई स्थायित्व, विश्वास र नेतृत्वको दिशा दिन सक्षम रहेको उहाँले दाबी गर्नुभयो । ‘अहिलेको बैठक त्यो ऐतिहासिक यात्राको प्रारम्भिक कदम हो’, उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...