संविधानलाई लिकमा लान प्रतिनिधिसभाको पुनर्स्थापना: एमाले

काठमाडौं, असोज ३१ । नेकपा एमाले दशौँ केन्द्रीय कमिटी बैठक सर्वसम्मतिले २२ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै शुक्रबार साँझ सम्पन्न भएको छ । असोज २९ देखि तीन दिनसम्म बसेको बैठकले विभिन्न विषयमा २२ बुँदे प्रस्ताव पारित गरेको हो ।
केन्द्रीय कमिटीको दशौँ पूर्ण बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव माथि छलफल गरी सुझाव सहित सर्वसम्मतिले पारित भएको छ ।

पारित प्रस्तावमा भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग सम्बन्धमा दुष्प्रचार, नियोजित षड्यन्त्र, निर्वाचनका सम्बन्धमा जोखिमपूर्ण बन्दै गएको स्थिति, शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन नवयुवा पुस्ताको सरकार, लोकतान्त्रिक शक्तिहरूलाई सहयोगका लागि आह्वान, पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

 

देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकोले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आमनागरिकलाई आन्दोलनमा उत्रिन बैठकले आह्वान गरेको छ । पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

बैठकमा उपस्थित केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालय सम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । तीन दिनको बैठकमा केन्द्रीय कमिटीका २ सय ३३ जना, प्रदेश कमिटीका अध्यक्ष ८ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना, केन्द्रीय निकायका ३ जना र पदाधिकारी १७ जनाले सुझावसहितको मन्तव्य राख्नुभएको बैठक पछि पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा चारवटै आयोगका अध्यक्षहरू क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव बडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो ।

 

पार्टी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी नीति, विधि र निर्णयले चल्ने बताउँदै बाहुबलले पार्टी नचल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘म सदैव पार्टीको एकताको पक्षमा छु, सबै साथीहरूलाई हार्दिकताका साथ एकताबद्ध भएर अगाडि जानुपर्ने कुरामा जोड दिन्छु, आजको सङ्कटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनर्स्थापना आजको हाम्रो मुख्य माग हुनुपर्दछ, निर्वाचन देखाउने दाँत मात्र हो, सरकार व्यवहारतः निर्वाचनको पक्षमा छैन’, उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...