विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने:ओली

काठमाडौं, कात्तिक २ । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताउनुभयो ।

आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले आफूलाई देश भित्र हिँडडुल गर्न समेत रोक लगाउने निर्णय गरेको बताउँदै उहाँले यो कस्तो सरकार भन्दै प्रश्न गर्नुभयो ।

 

आफू माथि सुरक्षा चुनौती भएको बेला सरकारले आफ्नो सुरक्षा फिर्ता लिएको ओलीले बताउनुभयो । सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उहाँको भनाइ छ ।

 

भोलि आफूलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग आउने भन्दै त्यो कुरा सम्पादकले नै भन्न बाध्य हुने ओलीको दाबी छ । ‘तपाईँहरूले सम्पादकीय लेखेर भन्नु हुने छ केपी ओली फिर्ता लाउनु पर्छ, विशेष सम्पादकीय लेखेर भन्नु हुने छ’, उहाँले भन्नुभयो ।

 

ओलीले भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताउनुभयो । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पार्नुभयो । ‘मेरै घर जलाइएको छ, मेरै बाउको घर जलाइएको छ, म जिम्मेवार हुनु पर्ने ? मेरो घर मैले नै जलाएँ त ?’, उहाँले प्रश्न गर्नुभयो ।

 

जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उहाँले त्यसका विरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको ओलीले गुनासो गर्नुभयो । ‘यो नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्नु पर्छ, लेख्न सक्नु पर्छ’, उहाँले भन्नुभयो ।

 

संसद् स्थापना बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताउनुभयो । आफूले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरूले अहिले संसद् विघटनको समर्थन जनाउन आश्चर्यजनक भएको उहाँले सुनाउनुभयो ।

 

निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीको भनाइ छ । एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने उहाँले दाबी गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...