काठमाडौं, कात्तिक ८ । नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आगजनी भएपछि अस्थायी रूपमा पाल टाँगेर आफ्नो नियमित कामकाज आजबाट सुरु गरेको छ ।

भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा प्रदर्शनकारीहरूले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी गरेपछि त्यहाँका अधिकांश कागजात, फर्निचर र संरचना जलेका थिए । त्यसपछि पार्टी केन्द्रीय कार्यालयको नियमित काम पूर्णरूपमा ठप्प भएको थियो ।
डेढ महिनापछि शनिबार एमालेले च्यासल परिसरमा पाल टाँगेर कार्यालयको काम पुनः सुरु गरेको हो । अस्थायी पालमुनि सुरु गरिएको कार्यालय सञ्चालनको प्रारम्भ उपमहासचिव विष्णु रिमाल, स्थायी समिति सदस्य भानुभक्त ढकाल, सचिवालय सदस्य राजन भट्टराईलगायतका नेताको उपस्थितिमा गरिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा एमालेको मात्र होइन, अन्य प्रमुख राजनीतिक दलका कार्यालयहरू, शीर्ष नेताहरूका निजी आवास, सरकारी कार्यालयहरू र केही व्यावसायिक प्रतिष्ठानहरू समेत तोडफोड र आगजनीको निशानामा परेका थिए ।
च्यासलस्थित पार्टी कार्यालयमा भएको क्षतिपछि पार्टी केन्द्रका नियमित काम ठप्प जस्तै भएका थिए । पार्टीको नयाँ भवन पुनर्निर्माणको योजना तयार भइरहेको र अस्थायी पालमुनि अहिले पार्टीको दैनिकी सञ्चालन गरिनेछ ।
आगजनी र ध्वंसले एमालेको राजनीतिक प्रतिबद्धता कमजोर पार्न नसक्ने बताउँदै एमाले खरानीको थुप्रोमा टेकेर फेरी उठ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।