पोखरा,कात्तिक १३ गते । कास्की प्रहरीले पोखराबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं।१७ छोरेपाटनमा लागू औषधको बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. १२ बस्ने वर्ष २२ को राहुल घले र वडा नं. १८ बस्ने वर्ष ३१ को सुदिप विश्वकर्मालाई पक्राउ गरेको हो । खानतलासी गर्दा उनीहरुको साथबाट डाईजापाम १४९ एम्पुल, फेनारगन १४७ एम्पुल, नुर्फिन १४७ एम्पुल गरी जम्मा ४४३ एम्पुल लागू औषध र मोबाईल २ थान समेत बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।