महासंघमा बस्तुगततर्फ बलियो टिम बनाउँदै उपाध्यक्ष उम्मेदवार श्रेष्ठ

काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मिति नजिकिएसँगै चुनावी अभियान तिब्र बनेको छ । विभिन्न पदका आकांक्षीहरुले चुनावी अभियान तिब्र बनाएका छन् । यसैक्रममा महासंघमा बस्तुगततर्फ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नरेशलाल श्रेष्ठले चुनावी अभियानलाई तिब्र बनाउँदै टिम घोषणाको अन्तिम तयारी गरेका छन् ।

श्रेष्ठले बस्तुगत सदस्यहरुतर्फ समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी टिम बनाउने तयारी गरेको बताएका छन् । टिम घोषणाको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए । अघिल्लो महाधिवेशनमा बस्तुगततर्फ चुनाव जितेका लोकप्रिय उम्मेदवारहरुलाई समेत समेटेर नयाँ उम्मेदवारहरुसहित समेटेर टिम निर्माण भइरहेको उनले बताए । श्रेष्ठका अनुसार नयाँ उम्मेदवारहरु पनि लोकप्रिय र राम्रो मत प्राप्त गर्ने सम्भावना बोकेकाहरु रहने उनको दावी छ ।
‘म लामो समयसम्म महासंघको विभिन्न पदमा रहेर काम गरेको अनुभव सँगालेको छु,’ उनले भने, ‘राम्रो, समावेशी र बलियो टिम निर्माण गर्ने क्रममा छु । जुन टिमले महासंघमा चुनाव जितेर महत्वपूर्ण योगदान गर्नेछ । टिम बनाउने क्रममा बस्तुगत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग छलफल भइरहेको श्रेष्ठले जानकारी दिए । ‘अधिकांश बस्तुगत अध्यक्षहरुसँग परामर्श गरेर टिम निर्माण भइरहेकाले पनि राम्रो टिम बन्नेछ,’ उनले भने ।

महासंघको कार्यसमिति सदस्य तथा निर्यात प्रवर्द्धन समितिका सभापतिसमेत रहेका श्रेष्ठले महासंघलाई बलियो बनाउन र बस्तुगत संघसंस्थाहरुको प्रवर्द्धन तथा हकहितमा काम गर्न बलियो टिम आवश्यक परेको धारणा राखे ।
महासंघको आगामी महाधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतह अध्यक्ष बन्नेछन् । अन्य पदमा समेत सर्वसम्मत नेतृत्व चयनको लागि महासंघभित्र छलफल भइरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुँदासमेत वस्तुगत उपाध्यक्षमा श्रेष्ठलाई समावेश गर्नुपर्ने आवाज महासंघ भित्र तित्र रुपमा उठिरहेको बताइएको छ ।

आफूले सबै बस्तुगत संघहरुलाई नजिकबाट बुझ्ने अवसर पाएको र उपाध्यक्ष भएसँगै बस्तुगत संघहरुको हकहितमा नजिकबाट काम गर्ने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

टिप्पणिहरु
लोड हुदै...